१२ बुँदै सम्झौता भारतले गराएको भन्दा माधव नेपाल फायर (भिडियोमा)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल राजनीतिक दल र विद्रोही माओवादीबीच भारतमा भएको १२ बूँदे समझदारीमा भारतको कुनै पनि संलग्नता नरहेको दावी गरेका छन् ।

नेकपाका विदेश विभाग प्रमुख समेत रहेका नेता नेपालले भारतको संलग्नतामा सो १२ बूँदे समझदारी भएको भन्ने भनाइको कडा प्रतिवाद गरे ।

लक्ष्मण पन्तद्वारा लिखित ‘नेपाल, भारत र छिमेकः चार दशकका मुख्य घटना’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले तत्कालीन सात राजनीतिक दल र बिद्रोही माओवादीसँग १२ बूँदे समझदारी गर्दा भारतसँग कुनै परामर्श समेत नगरिएको स्पष्ट पारे ।

सो समझदारीका लागि तत्कालीन माओवादी बिद्रोहका सुप्रिम कमाण्डर पुष्पकमल दाहाललाई सहभागी गराउन आफ्नो नै मुख्य भूमिका रहेको नेता नेपालको भनाई छ ।

नेता नेपालले नारायणकाजी श्रेष्ठलाई आफूले बोलाउन पठाएपछि दाहाल सो समझदारीकालागि दिल्ली आएको पनि खुलासा गरे । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई पनि आफूले टेलिफोन संवादमार्फत् वार्तामा बोलाएको नेता नेपालले बताए ।