नबिल बैंक र इक्यानबीच व्यवसायीक सम्झौता (भिडियोसहित)

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र नबिल बैंकबीच एमओयू सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नविल बैंकका सीईओ अनिलकेशरी शाह तथा इक्यान अध्यक्ष विष्णुहरी पाण्डेले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै नबिल बैंक इक्यानको अफिसियल बैंक बनेको छ ।

सम्झौतासँगै नबिल बैंकबाट इक्यानमा आबद्ध शैक्षिक परामर्श केन्द्रहरू, विद्यार्थी तथा इक्यानमा आबद्ध कर्मचारीले सहज, सरल तथा सर्वसुलभ रुपमा सेवा पाउनेछन् । नबिल बैंकले उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीहरूलाई आवश्यक पर्ने ऋण सहज रुपमा उपलब्ध गराउनेछ ।

एमओयूमा विद्यार्थीलाई सहज रुपमा शैक्षिक कर्जा उपलब्ध गराउने देखि लिएर इक्यान कर्मचारीलाई पनि विभिन्न सेवा सुविधा दिने सम्मका विषय समेटिएको नबिल बैंकको चिफ मार्केटिङ अफिसर बिनय कुमार रेग्मीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै इक्यान अध्यक्ष विष्णुहरी पाण्डेले नविल बैंकसँग व्यवसायीमैत्री बनेर अघि बढ्न चाहेको बताए । इक्यानको अफिसियल बैंक बनेकोमा नविललाई धन्यवाद दिँदै अध्यक्ष पाण्डेले एउटा मात्र नभएर सबै पक्षलाई फाइदा पुग्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

शैक्षिक परामर्श संस्थाहरूले राज्यका सबै नीति नियम पालना गर्नुपर्ने बताए । अबको केही समयमा अवधै कन्सल्टेन्सीहरू बन्द हुने अवस्थामा पुग्ने उनको दाबी छ ।

कार्यक्रममा बोल्दै नविल बैंकका सीईओ अनिलकेशरी शाहले इक्यानसँग नविल बैंकको सम्बन्ध निकै लामो रहेको बताए । विभिन्न समयमा इक्यानसँगै मिलेर अघि बढेको बताउँदै सीईओ शाहले अब पनि इक्यानको अफिसियल बैंक पार्टनर हुँदा निकै खुशी लागेको बताए ।

नेपालमा अहिले धमिलो पानी धेरै ठाउँमा रहेको भन्दै त्यो कन्सल्टेन्सी क्षेत्रमा पनि व्याप्त रहेको बताए । विदेशमा गएर युवाहरूले ब्रेन गेन गर्नुपर्नेमा जोड दिए । विदेशमा सिकेको सीपलाई नेपालमा लागू गर्न सबै युवाशक्तिलाई आह्वान गरे । इक्यानसँग आफुहरूले दिगो सम्बन्ध स्थापित गर्न खोजेको भन्दै सीईओ शाहले विद्यार्थीलाई लोन दिने मात्र नभएर सबैका आवश्यकतालाई हेरेर अघि बढ्न बैंक तयार रहेको बताए ।