‘भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि १.४६ ट्रिलियन डलर लगानी गरिने’ : भारतीय प्रधानमन्त्री

‘भाइरसबाट प्रभावित अर्थतन्त्र उकास्नका लागि १.४६ ट्रिलियन डलर लगानी गरिने’ : भारतीय प्रधानमन्त्री


नयाँ दिल्ली ।

भारतले कोरोना भाइरस महामारीको नियन्त्रणका लागि आवश्यक सबै उपायलाई अवलम्बन गरिरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् ।

सङ्क्रमणका कारण अन्य विश्व समुदायको जस्तै भारतको पनि अर्थतन्त्रमा प्रभाव परेको भन्दै महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न सरकारले पूर्वाधार योजनाहरुमा १.४६ ट्रिलियन अमेरिकी डलरको घोषणा गरेको उनले बताए।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, “भारतले महामारीबाट सिकेको मुख्य पाठ भनेको उत्पादन र विकासमा आत्मनिर्भर बन्ने र अन्तर्राष्ट्रिय कम्पनीहरूका लागि प्रमुख आपूर्तिको गन्तव्य बनाउने हो ।”

“कोरोना भाइरस महामारी एक ठूलो सङ्कट हो, तर यसले भारतको आर्थिक प्रगति रोक्न सक्दैन,” मोदीले बेलायती शासनबाट भारत स्वतन्त्रता पाएको दिन १७ औं शताब्दीको मुगल युगमा निर्माण गरिएको लाल किल्लामा सम्बोधनका क्रममा बताए ।

कोरोना भाइरस नियन्त्रण तथा खोप निर्माणबारे भारतले लिएको अग्रसरताबारे बोल्दै उनले भने, “भारतमा तीन खोपहरू विभिन्न चरणमा परीक्षणको प्रक्रियामा छन् र वैज्ञानिकहरूले ‘ग्रिन सिग्नल’ दिने बित्तिकै विशाल उत्पादन शुरू हुनेछ । खोपको ठूला उत्पादनका लागि विस्तृत योजनाहरू बनाइएको र यसबाट प्रत्येक भारतीयलाई खोपको सहज पहुँच गराइने छ ।”

भारतले २५ लाख भन्दा बढी भाइरसको पुष्टि गरेको छ, अमेरिका र ब्राजिल पछाडि तेस्रो धेरै सङ्क्रमित रहेको भारत मृत्युको सङ्ख्याका आधारमा संसारमा चौथो बढी प्रभावित मुलुक हो । भारतमा हालसम्म ५० हजार सङ्क्रमितको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा भारतीय अर्थतन्त्रमा ४.५ प्रतिशतको संकुचन प्रक्षेपण गरेको छ, जुन भारतीय इतिहासमा निकै खराब अवस्था हो । तर प्रधानमन्त्रीले सन् २०२१ मा देशको अर्थतन्त्रमा उछाल आउने अपेक्षा गरिएको बताए ।

महामारीको आर्थिक प्रभावलाई हटाउन सरकारले सात हजार पूर्वाधार परियोजनाहरू पहिचान गरेको प्रधानमन्त्री मोदीले बताए।

 

Logo