मध्यरातमा परपुरुषसँग सम्बन्ध, बिहान घाँटीमा पासाे !

वाग्लुङ । २४ वर्षीया युवतीको कोठामा राति एकजना परपुरुष आउँछन् । र, दुवैजना अन्तरंग सम्बन्ध गाँस्छन् । त्यो कुरा उनकै आमाजू र आमाजूका श्रीमान्ले देख्छन् । उनीहरूले त्यसो किन गरिस् भन्दै सम्झाउँछन् । तर २४ वर्षीया भीमकली सुनार केही पनि बोल्दिनन् । बरू भीमकली त्यो केटालाई झ्यालबाट भगाउँछिन् ।

भीमकलीलाई दुवैजना मिलेर सम्झाइबुझाइ गरे । तर उनी उल्टै कोठा बन्द गरेर भित्र बसिन् । आमाजूले ‘हैन बुहारी, भाइ विदेशमा तिमीहरूकै लागि भनेर दुःख गरिरहेको छ । तिमीले किन यस्तो गर्‍यौ’ भन्दै सम्झाइन् । तर उनी एक शब्द पनि बोलिनन् । भोलिपल्ट बिहान गाउँले बसेर उनलाई सम्झाइबुझाइ गराएर घर पठाए । ती परपुरुषको अनुपस्थितिमा नै भीमकलीलाई सम्झाए । त्यहाँबाट घर फर्किएको करिब एक घण्टामा भीमकलीले आत्महत्या गरिन् । कोठाभित्र सलको पासो लगाउँदै उनले आत्महत्या गरेकी थिइन् ।

आत्महत्या गर्नुअघि उनले एउटा कागजमा सुसाइड नोट लेखेकी थिइन् । जसमा आमाजू र आमाजूका श्रीमान्को कारण आफू आत्महत्या गर्न बाध्य भएको लेखेकी थिइन् । उनले आत्महत्या गर्दा खुट्टा भुइँमा नै टेकिएको थियो । उनले ६ फिट पनि उचाइ नभएको कोठामा सलमा पासो लगाएकी थिइन् । सुसाइड नोटमा उनले कान्छी देउरानीलाई ‘मेरो छोरी र तेरो छोराको इच्छा एउटै हो । मेरो छोरीको नि इच्छा पूरा गरिदेस् । मेरो छोराले स्कूल जाँदा सधैं पैसा माग्छ । पैसा दिएस् ।’ भनेर लेखेकी थिइन् ।

त्यस्तै ‘मेरो जिन्दगी बर्बाद गर्ने, आत्महत्या गर्न बाध्य पार्ने रविलालको बूढाबूढी (उनको आमाजू र उनको श्रीमान) हुन् ।’ भनेर सुसाइड नोटमा लेखेकी थिइन् । आफूले नराम्रो काम गर्नुहुन्न घरबार बिग्रिन्छ भन्दै सम्झाइबुझाइ गर्दा उल्टै आफूहरूमाथि आरोप लगाएर आत्महत्या गरेको रविलाल सुनारको भनाइ छ ।

बच्चा बिरामी भएपछि रविलाल कुखुरा खोज्न राति गाउँमा निस्किए । उनीसँग अरू पनि थिए । सालीकै घरमा कुखुरा भए किन अरू ठाउँ जाने भन्दै उनीहरू भीमकलीको घरमा गएका थिए । बच्चा बिरामी परेपछि धामीले कुखुरा खोज्न भनेपछि रविलाल श्रीमती र दुई जना अन्यलाई लिएर राति उनको घरमा गए । उनको घरमा पुगेर कोठाभित्र हेर्दा त एकजना केटा देखियो । रविलालको श्रीमतीले कोठाभित्र केटा देखिन् । ढोका बन्द थियो । तर ढोकामा रहेको प्वालबाट भित्र हेर्दा केटा देखियो । बच्चालाई कुनामा सुताएकी थिइन् । दुवैजना रातो कम्बल ओढेर सुतेका थिए । ‘बुहारीलाई पहिलो पटक यस्तो अवस्थामा भेटियो । त्यसपछि उनले बुहारीलाई सम्झाएकी थिइन् ।

उता माइती पक्षले भने आफूहरूको अनुपस्थितिमा छलफल गरिएको भन्दै आपत्ति जनाएका छन् । छलफलका क्रममा भीमकलीका माइती पक्षलाई समेत खबर गरिएको थिएन भने केटालाई पनि बोलाइएको थिएन । छलफलकै क्रममा उनलाई अब तेरो बूढा आएर तँलाई मार्छ भन्दै धम्की समेत दिइएको माइती पक्षको आरोप छ ।

भीमकलीका श्रीमान् वैदेशिक रोजगारीको लागि मलेसियामा छन् । उनी सासू ससुरासँग छुट्टिएर अलग्गै बस्दै आएकी थिइन् । उनी अलग्गिएको एक डेढ वर्ष भएको थियो । उनले ती पुरुषसँग सम्बन्धमा रहेको गाउँलेले थाहा पाएपछि आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । तर माइती पक्षले भने गाउँलेको कुरा अस्वीकार गरेको छ । उनलाई आत्महत्या गर्न बाध्य पारिएको माइतीको दाबी छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

मध्यरातमा परपुरुषसँग सम्बन्ध, बिहान घाँटीमा पासाे !