पहिलो पटक प्रधानसेनापतिले सम्पत्ति विवरण सार्वजनिक गरे (भिडियोमा)

काठमाडौं । नेपाली सेनाले प्रधानसेनापतिको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमकाबीच उनले आफ्नो सम्पत्ति वितरण सार्वजनिक गरेका हुन् । सम्पत्ति विवरणमा उनको काठमाडौं महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको उल्लेख छ ।

थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, श्रीमती दीपाको नाममा कामनपा–२६ मादुई आना माइतीबाट प्राप्त र थापा दम्पतीको नाममा कामनपा–५ माचार रोपनी ११ आना जग्गा छ । थापा दम्पतीको नाममा नवलपरासीको कोल्हुवा–५ मा १२ कट्ठा छ धुर तथा छोरी रुरुको नाममा लमजुङको बेँसीशहरमा एक रोपनी जग्गा रहेको छ ।

यस्तै प्रधानसेनापति थापाको नेपाल इन्भेष्टमेन्ट बैंकमा १६ लाख ६१ हजार, सोही बैंकमा पाँच हजार नौ सय अमेरिकी डलर, ग्लोबल आइएमई बैंकमा ४२ हजार र श्रीमतीको नाममा मेघा बैंकमा ५० हजार रहेको छ ।

श्रीमतीको नाममा मेघा बैंकको २४ हजार कित्ता प्रमोटर र नौ हजार साधारण शेयर रहेको छ भने डिसिबिएल बैंक र ग्लोबल बैंकमा ७० र शिवश्री हाइड्रोपावरमा १० हजार कित्ता शेयर रहेको उल्लेख छ । उनले ग्लोबल आइएमईबाट १८ लाख, कल्याणकारी कोषबाट पाँच लाख, एनबी बैंकबाट ९८ लाख र लक्ष्मी बैंकबाट ३० लाख ४५ हजार विभिन्न मितिमा ऋण लिएको देखिएको छ । उनीसँग फिगो फर्ड कार रहेको छ ।

प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ । प्रधानसेनापति थापाले नेपाली सेनामा हुने भ्रष्टाचार अनुगमन र नियन्त्रणका लागि आगामी वर्ष विशेष योजना ल्याउने घोषणा पनि गरेका छन् । उनले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराएका थिए ।