जण्डिस निको पारिदिने भन्दै झाँक्रीले बिरामीको पेट चिरेर रगत चुसेपछि…!

धादिङ,

उपचारको बाहानामा जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं. ९ का ३९ वर्षीय राजु मगरको पेटमा एक लामा झाँक्रीले प्वाल पारिदिएका छन् ।

पेट ब्लेडले चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसको विरामी परेका मगर जीवन मरणको दोसाँधमा पुगेका छन् । नीलकण्ठ नगरपालिका वडा नं. ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेट चिरेर छाडेका थिए ।

जिल्ला अस्पताल धादिङमा आमस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकोले थप उपचारका लागि काठमाडौं स्थित वीर अस्पतालमा प्रेषण गरिएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

विरामी मगरको ०७६ भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका विरामीले बताए । २ महिनादेखि जण्डिसले विरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुगेका थिए ।

उपचारको क्रममा यस किसिमको रोग आफूले धेरैको निको पारेको भन्दै विकार तानेर निको पर्ने बताएका थिए । सोही बेला उपचारका लागि भनेर जण्डिस तानेको, औषधी दिएको र बिकार तानेको भनेर विरामीसँग ८ हजार ३८० रुपैयाँ रकम लिएर ब्लेटले देब्रेपटी पेटमा चिरेको विरामीकी श्रीमती विमलाले जानकारी दिइन् ।
नेपाल समाचारपत्रबाट