हामी नेपालका बेइमान सन्तान हौं, मंसिर ४ बाट बिदाई गर्नुपर्छ -नेता भण्डारी

हामी नेपालका बेइमान सन्तान हौं, मंसिर ४ बाट बिदाई गर्नुपर्छ -नेता भण्डारी


नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देशमा भइरहेको भ्रष्टाचारलाई आगामी निर्वाचनबाट निमिट्यान्न बनाउने शक्ति निर्वाचित गर्न आवश्यक रहेको बताएका छन् । 

बिहीवार गुल्मी निर्वाचन क्षेत्र नम्बर १ ले काठमाडौंमा आयोजना गरेको उम्मेदवार परिचय तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता भण्डारील यस्तो बताएका हुन् । उनले नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार भएकाले आसन्न निर्वाचनबाट भ्रष्टाचारलाई निमिट्यान्न बनाउने शक्तिलाई विजयी गराउन आवश्यक रहेको बताए । 

नेता भण्डारीले नेताहरुले लुटेको सम्पतीलाई फिर्ता गर्नुपर्ने दिन आइसकेको बताए । राजनीतिक दलहरुले नेपालमा रोजगारीको अवसरको खोजी नगरी युवाहरुलाई विदेश पठाउने गरेको भन्दै यस्ता तत्वहरुलाई निर्वाचनबाट जनताले पराजित गर्न आवश्यक भएको उनले बताए । 

उनले भने-‘हामीलाई थाहा छ, नेपालको रोग के हो, नेपालको सबैभन्दा ठूलो रोग भ्रष्टाचार हो । अब जो सुकै होस्, जुन पार्टीको होस्, जतिसुकै ठूलो होस्, हामीले अब मंसिर ४ गते यी तत्वलाई पराजित गर्नुपर्छ, यो लुटेको सम्पती नेपाल आमालाई फिर्ता गर्नुपर्छ । युवाहरुलाई विदेश पठाएर नेपालमा अवसरको खोजी नगर्ने दोस्रो रोग हो । नेपाललाई रित्तै गर्ने, जोश छैन, जाँगर छैन । यसको निधान हामीले गर्नुपर्छ । आज हामी ७ खर्ब विदेशी ऋणको ब्याज तिर्दै छौँ । २२ खर्ब व्यापार घाटा छ । १२ खर्ब राजश्व उठ्छ जम्मा । कहाँबाट विकास गर्ने नेपालले । हाम्रा घरका बस्तीलाई हामीले गरिब बस्ती भनेर हेप्यौँ, तर अहिले शहरमा खरको छानोले छाएको टहरा बनाएर करोडौंको व्यापार गरिरहेका छन् । न हामीले देश चिन्यौँ, न त हाम्रो सौन्दर्य नै ।’
 
नेता भण्डारीले मुलुकलाई दुरावस्थामा पु-याउने नेताहरुलाई आसन्न निर्वाचनबाट बिदाई गर्नुपर्ने बताए । आसन्न निर्वाचन आफूले जिते गुल्मी जिल्लालाई नमूना जिल्ला बनाउने प्रतिवद्धता उनले व्यक्त गरे ।   

Logo