जहाज काण्ड र सामाजिक अभियन्ताको चरित्र
  • दुर्गा पंगेनी –

योगेश भट्टराई पहिलो पटक मन्त्री भएका आशालाग्दा युवा नेता हुन् । लाखौँ युवाहरूको सेन्टिमेन्ट सोझै जोडिएका र औँलामा गन्न सकिने केही गरेर देखाउने लगाव भएका र इमान्दार राजनैतिक व्यक्तित्व अन्तर्गत पनि अग्र पङ्क्तिमा रहेको उनको व्यक्तित्वलाई त्यति सजिलै डगाउन सकिँदैन । नियतवश उनको दोहोलो काढ्न तम्सिनेहरूले बेलैमा यो कुरा बुझ्नुपर्ने हुन्छ ।

हामी,हाम्रो देश र हाम्रो परिस्थितिको स्पिड आज पनि विकसित राष्ट्रसँग दाँज्न मिल्ने बनिसकेको छैन । हामीमा समय व्यवस्थापन गर्न नसक्ने कमजोरीसँगै धैर्यपूर्वक पर्खनसक्ने खुबी पनि निहित छ । हामी किन त्यसरी पर्खन सकिरहेका छौँ त ? किनभने उखान अनुसारको ‘नेपाली समय’ सँग हामी बानी परेका छौँ ।

जहाज छुट्दा या ढिलो हुँदा निकै ठूलो नोक्सानी बेहोर्ने यौटा तप्का होला तर कृष्णभिर र बुटवल सिद्धबाबाको पहिरोमा एक एक हप्तासम्म जाममा परेर पनि चाउचाउले गुजारा गर्दै आफ्नो समय व्यवस्थापन गर्न सक्ने र त्यो हप्तौँको धैर्य कायम गर्नसक्ने पनि हामीहरू नै हौँ ।

सरासर हामी सबैले बुझ्नसक्ने साधारण विवेकको प्रयोग मात्रले दिमागमा सजिलै घुस्ने कुरा के हो भने योगेश भट्टराई जत्तिको देश काल परिस्थिति बुझेको मन्त्रीस्तरको नेताले जानीजानी आफैं गल्ती गरेर जहाज रोकाउँदैनन् । वा भनौँ, अत्यावश्यक नभई जहाजलाई पर्खन अनुरोध गर्दैनन् ।

मन्त्रीको समय व्यवस्थापनमा धेरै पक्ष संलग्न हुन्छन् । कार्यक्रम नै ढिलो समापन हुने भएपछि त्यसरी कार्यक्रमलाई बिचैमा छोडेर हिँड्न मिल्ने अवस्था नभएरै उनले जहाजलाई पर्खन अनुरोध गरे होलान् । अथवा सहभागी भइरहेको कार्यक्रमलाई बिचैमा छोड्दा पनि त्यताका जनताको अपमान नै हुन्थ्यो र भोलिपल्ट सदनमा जवाफ दिन उपस्थित नभए संसदको अपमान जस्तो हुन जान्थ्यो । यस्तै यस्तै धेरै परिस्थितिहरू एकै पटक परेर मात्रै मन्त्रीले जहाजलाई पर्खन अनुरोध गरेको हुनुपर्छ जुन कुरा मन्त्रीको विज्ञप्तिले पनि प्रस्ट्याएको छ ।

एकजना जिम्मेवार मन्त्री जो जनताकै कामको लागि हिँडेको छ र जनतालाई नै जवाफ दिने रोष्टममा उभिन हतार हतार फर्कदै छ उसले लिएको एक घण्टा समयको बदलामा ज्ञानेन्द्र शाहीहरूले के दिए ? मन्त्रीसँग उनी कसरी प्रस्तुत भए ? त्यो तरिका सही या गलत के हो ? यो र यस्ता प्रश्नहरू भने यो समग्र घटनालाई सकारात्मक तरिकाबाट सोच्ने हरेक मान्छेको मनमा उठ्ने नै रहेछ ।

हामी त्यसरी मन्त्रीमाथि गालीगलौज गर्न सक्ने हैसियतमा चाहिँ कसरी पुग्यौँ ? यो प्रश्नलाई पनि मनन गर्नु जरुरी छ । तिनै योगेश भट्टराईहरूको अगुवाइमा गरिएको आन्दोलनबाट प्राप्त प्रजातन्त्रको नतिजा होइन यो ?

अनि हामीले त्यो प्रजातन्त्र त्यो वाक स्वतन्त्रता र त्यो अधिकारको सही प्रयोग गर्‍यौँ त ? हामीले भन्दा पनि के ज्ञानेन्द्र शाहीले एयरक्राफ्टभित्र बहालवाला मन्त्रीसँग गरेको वार्तालापको तरिका ठीक थियो त ? के आज पनि हामीहरू ‘मौसूफका रैती’ को हैसियतमा रहिरहेका थियौँ भने मौसूफका मन्त्रीसँग त्यसरी झगडा गर्न कुनै ज्ञानेन्द्र शाही अगाडि  सर्ने हिम्मत गर्थ्यो होला त ? यी यावत कुराहरू समेत हामीले गम्भीर रूपमा सोच्न पर्ने समय भएको छ ।

यसको अर्थ प्रजातन्त्र ल्याउन योगदान गरेका नेताहरूले जति गल्ती गर्न पनि पाउँछन् भन्ने नलागोस् तर समय र परिस्थितिवश भएका या हुन गएका गल्तीहरूमा त्यो किसिमको सजाय कुनै कोणबाट पनि न्यायोचित देखिँदैन । देश र जनताका लागि खटेका, प्रजातन्त्र र नागरिक अधिकारका लागि लडेका नेताले जुन सम्मान डिजर्भ गर्छन् त्यो हामीले उनीहरूलाई दिनै पर्छ । हरेक नेता चोर र हरेक नेता भ्रष्ट देख्ने हाम्रो पूर्वाग्रही चस्मा बदल्नु पर्छ अब ।

कुरा जे भए पनि ‘मन्त्री, कार्य व्यस्तता र समयको नेपाली चलन’ लाई मध्यनजर राख्दा केही मिनेट जहाज ढिलो हुनु कुनै ठुलै अवस्था चौपट हुनु होइन ।

जसरी योगेश भट्टराई लाखौँ युवाको रोल मोडल हुन्  त्यसरी नै छोटो समयमा भ्रष्टाचारको विरुद्ध आवाज उठाएको कारण कतिपय किशोर किशोरीका रोल मोडल भएका छन् ज्ञानेन्द्र शाही पनि सामाजिक सञ्जालमा । अहिले सोसल मिडियाको जमाना छ । ज्ञानेन्द्र शाहीको मन्त्रीसँगको त्यो हर्कत बच्चादेखि किशोर किशोरी सबैले हेरिरहेका छन् । आफ्नो रोल मोडलले गरेको व्यवहार बच्चाहरूले छिटै टिप्छन् र सिक्छन् पनि ।

जहाज रोकिनु यौटा गणित हो । रोकियो गलत भयो । त्यसरी जहाज रोकिनुको मूल्य बेग्लै किसिमले चुक्ता हुनुपर्छ । अन्य यात्रुहरूको समयको आर्थिक भार मन्त्रीले वहन गर्न नसक्लान् त्यसको लागि उनले नैतिक जिम्मेवारी देखाउनु पर्ला तर जहाज भित्रका दुई व्यवहारमध्ये हामीले हाम्रा बच्चाहरूलाई कुन व्यवहार सिकाउने ? योगेश भट्टराईको जस्तो सहनशील व्यवहार सिकाउने कि ज्ञानेन्द्र शाहीको जस्तो अराजक व्यवहार सिकाउने ? यो कुरा समयमै तय हुनु जरुरी छ ।

ज्ञानेन्द्र शाही सहनशील हुनुपर्थ्यो । होसहवास गुमाएर योगेशमाथि अपशब्दहरू बोल्दा उनले आफ्नै व्यक्तित्व क्षय गराएका छन् । उनको जहाजभित्रको प्रस्तुति सुन्दाचाहिँ यो देशको लोकतन्त्रलाई ज्ञानेन्द्र शाहीहरूले आफ्नै बिर्ता ठानेर प्रजातन्त्र प्रदत्त अधिकारलाई ‘बाँदरको हातमा नरिवल’ बनाइरहेजस्तो लाग्छ ।

सामाजिक सञ्जालले उचालिदिएर भाइरल बनाइदिएको व्यक्तित्व हो ज्ञानेन्द्र शाहीको । सामाजिक सञ्जाल हुँदैनथ्यो भने उनलाई मूलधारको मिडियाले कति महत्त्व दिन्थ्यो अथवा उनका क्रियाकलाप कति समेट्थ्यो र त्यो समयमा उनको हैसियत के हुन्थ्यो हामी सबैले बुझेकै कुरा हो ।

युट्युब र फेसबुकले यौटा मार्का सेट गरिदियो ज्ञानेन्द्रको र हामीमध्ये केही त्यै मार्का नै समाजको उद्धारक हो भनेर पछि लागिरह्यौँ । हामीले गगन थापा, योगेश भट्टराई र गोकर्ण विष्टजस्ता नेताहरूको सम्साँझै दोहोलो काढेर ज्ञानेन्द्र शाहीजस्ता अराजकहरूलाई नेता बनाउने अब ? हाम्रो सोच खोज र हैसियत ज्ञानेन्द्र शाही मार्का नै हो त ? मनमनै यी प्रश्नको जवाफ आफैसँग माग्नुपर्ने समय भएको छ ।

अर्को कुरा, युट्युब लगायत सामाजिक सञ्जालहरूको सहयोगमा कमाएको नामलाई अलिकति तलमाथि गराउँदै सामाजिक सञ्जालमा टिकाइरहनको लागि पनि ज्ञानेन्द्रजस्ता मान्छेलाई यस्ता मौकाहरू आवश्यक परिरहन्छन् ।

युट्युबको उत्पादन हुन् यिनी ज्ञानेन्द्र शाही, ‘भाइरल’ हुन् । आफ्नो भाइरल ज्वरोको पारो घटेर चर्चा हराउने सेलाउने हुन्छ कि भन्ने बेग्लै पिरलो हुन्छ त्यस्ता मान्छेलाई । तसर्थ भाइरल मानसिकता बोकेका मान्छेहरूले सानाभन्दा साना कुरालाई पनि आफूअनुकूल प्रयोग गरिहाल्छन् । मन्त्रीको गल्ती हुनु र त्यो गल्तीलाई ज्ञानेन्द्रले प्रयोग गर्नु आश्चर्यको कुरा भएन ।

केही मान्छेहरू अरू देशको मन्त्रीबाट त्यस्तो गल्ती भएको भए नैतिकताको आधारमा राजीनामा दिइसक्थे भनेर आवाज उठाइरहेका छन् । तर, अरू देशमा त्यसरी एयरक्राफ्टभित्र हुलदङ्गा गरेको भए के हुन्थ्यो सोच्दैनन् । क्याप्टेनले आफ्नो एयरक्राफ्ट जोगाउन सुरक्षा निकायसँग गुहार मागेको भए अथवा मन्त्री र एयरक्राफ्ट जोगाउन सरकारले आपतकालीन अवस्था नियन्त्रणका तरिका अवलम्बन गर्नुपरेको भए के हुन सक्थ्यो, यो पनि सोचनीय विषय हो ।

एयरक्राफ्ट जोगाउने बहानामा सुरक्षा निकायले गोली चलाएको भए, मन्त्रीको सुरक्षा गर्न अंगरक्षकले जवाफी कारवाही गरेको भए ? सायद अहिले जहाजभित्र हुलदङ्गा गर्नेहरूको  पोस्टमार्टम भइरहेको अवस्था हुन्थ्यो अरू देशमा भएको भए । त्यसो किन भएन ? यै प्रजातन्त्र यै लोकतन्त्रको कारणले भएको होइन ? र, त्यो लोकतन्त्र ल्याउन योगेश भट्टराईले योगदान गरेका छैनन् ? सार्वजनिक ठाउँमा मन्त्रीले पाउने सम्मान योगेशलाई ज्ञानेन्द्रले दिनु पर्दैन ?

यो आर्टिकल पढ्दै गर्दा मन्त्रीले जति गल्ती गरे पनि छुट पाउनुपर्छ भन्ने अर्थ नलागोस् । जवाफदेही हुनुपर्छ योगेश भट्टराई तर समाजले र सामाजिक अभियन्ताहरूले पनि प्रश्न शालीन तरिकाले पनि सोध्नुपर्छ, अनुशासन यौटा न्यूनतम रेखा हुन्छ जसलाई पार गरेर आफ्नो असली चरित्र देखाउनु हुँदैनथ्यो ।

भद्र तरिकाले जवाफ रेकर्ड गरेर मिडियामा ल्याउन पनि सकिन्थ्यो । एकदमै नम्र र भद्र भएर मन्त्रीलाई तपाईँले किन ढिलो गराउनुभयो यो उडानलाई भनेर सोधेको भए र उनको जवाफको प्रतिवाद गरेको भए पनि हुन्थ्यो तर त्यो शालीनताले ‘भाइरल चर्चा’ प्रदान गर्दैन । ज्ञानेन्द्रको आक्रमकता कहाँ प्रयोग हुनुपर्थ्यो भन्ने कुरामा उनी आफैं  द्विविधामा छन् किनकि उनलाई चर्को चर्चाको भोक जागेको छ ।

सोसल मिडियामा चर्चा मात्र कमाएर हुन्छ कि समाजलाई अनुशासन सिकाउने दायित्व पनि हुन्छ सामाजिक अभियन्ताहरूको  ? यो कुरा अभियन्ताको ट्याग लगाएका सबैले बुझ्नु आवश्यक छ ।

भ्रष्टाचार विरोधी अभियन्ताको रूपमा ज्ञानेन्द्र शाहीले उठाएको आवाज र उनले चलाएका गतिविधि जायज छन् । उनी जुझारु युवा हुन् त्यसमा पनि दुई मत छैन तर उनले प्रस्तुतीकरणमा व्यापक सुधार ल्याउनुपर्छ । बोलीमा भद्रता र व्यवहारमा शालीनता प्रदर्शन गर्न सक्नुपर्छ । त्यसो गरेनन् या गर्न सकेनन् भने समयले जनताको मनबाट ज्ञानेन्द्र शाही भन्ने नाम धुमिल बनाउँदै लगेर नजरबाट ओझेल बनाइदिनेछ ।