बाँके घटनामा संलग्नलाई कारवाहीको प्रतिबद्धतापछि संसद्को अवरोध हट्यो
File Photo

काठमाडौं । सरकारले बाँके घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएपछि संसद्को अवरोध हटेको छ । बाँके घटनामा संलग्नहरूलाई कारवाहीको माग गर्दै संसद अवरुद्ध गर्दै आएको प्रतिपक्षी नेपाली कांग्रेस अब पछि हटेको छ ।

संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले घटनामा संलग्नहरुलाई करबाही गर्न किटानी जाहेरी दिएको चार दिन भइसक्दा पनि कारबाही नभएको बताए ।

यसले सत्तारुढ नेकपा र सरकारको संरक्षणमा घटनामा संलग्नहरुलाई लुकाइँदैछ भन्ने आशंकालाई बल पुगेको भन्दै घटनाको सही छानविन गर्दै दोषीमाथि कारवाही गर्न मगा गरे । लगतै कानूनमन्त्री भानुभक्त ढकालले घटनामा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।

संसदमा गृहमन्त्रीले सम्बोधन गरेको र शीर्ष नेताहरुबीच भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयंमले दोषीलाई कारबाही गर्ने बचन दिएको स्मरण गराउँदै उनले भने, ‘कारबाहीका लागि दिएको निवेदन दर्ता भएको छ । त्यसमा छानविन गरेर जो संलग्न छन्, उनीहरुलाई कानुनी दायरामा ल्याउने विश्वास दिलाउन चाहन्छु ।’ गल्ती नगरेका कोही नफस्ने र गल्ती गरेरकाहरु कारबाहीको दायरामा आउने उनले बताए ।

कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा २५ भदौमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी दिएको छ ।