नयाँ मतदाताको आकर्षण नयाँ दलतिर !

नयाँ मतदाताको आकर्षण नयाँ दलतिर !


आम निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फ प्रमुख दिन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो मत घटाएका छन् । राप्रपाले भने प्रत्यक्ष र समानुपातिक दुबैतर्फ मत बढाएको छ । यद्यपि समानुपातिकतर्फकाे  अन्तिम मतपरिणाम भने आउन बाँकी नै छ । 

२०७४ मा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २३ सिट र समानुपातिकमा ३१ लाख २८ हजार ३८९ मत ल्याएको कांग्रेसले यसपटक भने प्रत्यक्षमा ५७ सिट र समानुपातिकमा २७ लाख १५ हजार २२५ मत प्राप्त गरेको छ । यसरी हेर्दा कांग्रेसले यसपटक समानुपातिकतर्फ ४ लाख १३ हजार १६४ मत गुमाएको छ । 

२०७४ मा नेकपा एमालेले प्रतिनिधि सभाको प्रत्यक्षमा ८० सिटमा जित हासिल गरेको थियो । समानुपातिकमा ३१ लख ७३ हजार ४९४ मत प्राप्त गरेको थियो । आम निर्वाचन २०७९ मा प्रत्यक्षमा ४४ सिट र समानुपातिकमा २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको छ । एमालेले पनि समानुपातिकमा ३ लाख २८ हजार १५३ मत गुमाएको छ ।  

त्यसैगरी, माओवादी केन्द्रले २०७४ मा प्रत्यक्षमा ३६ सिट र समानुपातिकमा १३ लाख ३हजार ७२१ मत प्राप्त गरेको थियो। आम निर्वाचन २०७९ मा १७ सिट र समानुपातिकमा ११ लाख ७५ हजार ६८४ मत प्राप्त गरेको छ । माओवादीले १ लाख ४१ हजार ९६३ मत गुमाएको छ ।  

चुनावी नतिजाको विश्लेषण गर्दा समानुपातिकतर्फ ठूला दलहरुले पाउने मत यसपटक सबैको घटेको छ । दलीय रुपमा प्रतिवद्ध मतदाताले दिने मत कम हुनु उनीहरुको राजनीतिक क्षमतामा ह्रास आउनु हो । अहिलेको नतिजाले दलहरुलाई आफ्ना नीति र कार्यक्रमको समीक्षा गर्न सुझाएको छ । 

यसैगरी, आम निर्वाचन २०७९ मा राप्रपाले भने प्रत्यक्ष र समानुपातिक दुबैतर्फको मत बढाएको छ । गत मंसिर ४ मा भएको प्रतिनिधि सभाको चुनावमा राप्रपाले प्रत्यक्षमा ७ सिट जितेको छ । त्यसैगरी समानुपातिकमा ५ लाख ८६ हजार ६५९ मत प्राप्त गरेको छ । राप्रपाले ०७४ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षमा १ सिट र समानुपातिकमा १ लाख ९६ हजार ७८२ मत प्राप्त गरेको थियो । तर, राप्रपाले यसपटक अघिल्लो चुनावको तुलनामा समानुपातिकमा ३ लाख ८९ हजार ८७७ मत र प्रत्यक्षमा ६ सिट बढाएको छ । 

किन गुम्यो त प्रमुख दलहरुको मत ?
निर्वाचन आयोगका अनुसार यसपटक २५ लाख मतदाता थपिएका थिए । यही तथ्याङ्कलाई हेर्दा नयाँ मतदाताहरुको आकर्षण नयाँ दलहरुप्रति भएको देखिन्छ । पूराना दलका पुराना उम्मेदवारमा भन्दापनि नयाँ दलका नयाँ उम्मेदवारप्रति उनीहरु आर्कषित भएका हुन् । किनभने केही महिना अघि मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७ सिट जित हासिल गरेको छ । उसले समानुपातिकमा पनि ११ लाख २४ हजार ५५२ मत प्राप्त गरेको छ । नयाँ दल नागरिक उनमुक्ति पार्टीले प्रत्यक्षमा ३ सिट र समानुपातिकमा २ लाख ७१ हजार ६६३ मत प्राप्त गरेको छ । त्यसैगरी, मधेस प्रदेशमा उदाएको जनमत पार्टीले पनि प्रत्यक्षमा १ सिट जितेको छ भने समानुपातिकमा ३ लाख ९४ हजार ५२३ मत प्राप्त गरेको छ । 

लाखाैंको संख्यामा मतदाता बढ्दा पनि वर्षौदेखि पालो गरेरै भएपनि आ–आफ्नो वर्चस्व कायम गरीरहेका प्रमुख दलहरुले आफ्नो मत घटाएको नतिजाले देखाएको छ । नयाँ दलहरुले चुनाव नजितेकै ठाउँमा पनि उलेख्य मत प्राप्त गरेका छन् । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले १६ हजार ६०६ मत ल्याएर पनि प्रतिस्पर्धीसँग मात्र ४५३ मतले पराजित भएकी हुन् । नयाँ दल निकटतम प्रतिस्पर्धी भएर चुनाव हारेका अरु क्षेत्र पनि छन् । 

Logo