वृद्धि शुल्क फिर्ता गर्नुहोस् : शिक्षामन्त्री

काठमाडौं,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी मेडिकल कलेज सञ्चालकलाई मेडिकल शिक्षाको आफूखुशी वृद्धि गरिएको शुल्क फिर्ता गर्न आग्रह गर्नुभएको छ ।

अनेरास्ववियुले आयोजना गरेको ‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयको अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले तोकेको मापदण्ड अनुसार नै मेडिकल सञ्चालकलाई शुल्क लिन आग्रह गर्नुभएको हो । उहाँले वृद्धि शुल्क फिर्ता नगरे कडा कदम समेत चालिने जानकारी दिनुभयो ।

मन्त्री पोखरेलले विश्वविद्यालय, प्रतिष्ठान, निजी कलेजसंँगको सहमतिमा नयाँ शुल्क तोक्नका लागि कार्यदल बनेको समेत जानकारी दिनुभयो । उहाँले सबैको साझा प्रयासबाट राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनेको भन्दै कार्यान्वयन गरेर चिकित्सा क्षेत्रका विकृतिलाई सुधार गरिने बताउनुभयो । मुलुकलाई शैक्षिक केन्द्र बनाउन सरकार दृढ रहेको उल्लेख गर्दै उहाँले गुणस्तरीय शिक्षामा कसैसँग पनि सम्झौता नगरिने बताउनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज अधिकारीले निजी कलेजले तोकिएको मापदण्डमा कलेज सञ्चालन गर्न नसके राज्यलाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । नेपाली काङ्ग्रेसका नेता एनपी साउदले ऐनमा भएका कमजोरीलाई सुधार गरेर जानुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले सरकारको मापदण्ड अनुसार निजी कलेजले चिकित्सा शिक्षा सञ्चालन गर्न नसके सरकारीकरण गर्नुपर्ने बताउनुभयो ।