गगनको प्रश्न, ‘छोरा कुपुत्र हुनसक्ला तर आमा कहिल्यै कुमाता हुँदिनन्’

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कार आरोप लगाउने महिला यतिबेला निकै तनावमा परेकी छन् । लामो समयदेखि डिप्रेशनको शिकार बनेकी संसद सचिवालयकी स्टार्फ नर्स रोशनी शाहीले यहि घटना सार्वजनिक भएसँगै पतिसँग डिभोर्स पनि गरिन । डिभोर्स गर्न पति चित्रजंग शाहीको तर्फबाट पहल भएको थियो ।

रोशनीले त सहमति मात्र जनाएकी हुन् । डिभोर्सको कानुनी प्रक्रिया भने चलिरहेको छ । महरामाथि बलात्कारको आरोप लगाउने रोशनीले ४८ घण्टामै बयान फेरिन । उनले महरा आफ्नो बाबु समान भएको प्रतिक्रिया दिइन । एकातिर डिप्रेशनको शिकार बनेकी रोशनी अर्कोतिर कठीन अवस्थामा पतिले साथ छोड्दा झन तनावमा परेकी छन् ।

कान्तिपुर दैनिकका बिनु सुवेदीले बिहीबार रोशनीसँग गरेको कुराकानी अनुसार उनी चर्को दवावमा परेर आरोप फिर्ता लिन बाध्य भएकी थिइन । रोशनीको भित्री अन्तरकथा खोतल्ने प्रयास गरेकी बिनुसँग उनले निकै पीडा भाव व्यक्त गरेकी थिइन । एकातिर आरोप, अर्कोतिर पतिको साथ नहुनु । त्यो पीडा उनलाई मात्र थाहा छ ।

अमेरिकामा रहेका छोरा छोरीले पनि यस्तो पीडामा रहेकी आमालाई एक पटक पनि सम्पर्क गरेका छैनन् । उनी भन्छिन्, बाँच्नै मन लाग्दैन, छोराछोरीको फोटो हेरेर रुन्छु, उनी भित्तामा टाँसिएको छोराछोरीको तस्बिर हेरेर भावविहल हुन्छिन । तर अमेरिकामा बस्दै आएका छोराछोरीको मन भने ढुंगो जस्तै बनेको छ ।

यस्तो घटना हुँदा पनि उनीहरूले आमालाई एक कल पनि फोन गरेका छैनन् । रोगले बेस्सरी गिजोल्दा श्रीमान् त साथमा भएनन् बुढेशकालको साहरा भनिने छोराछोरीले पनि पराइ नै ठानेका छन् । उनले बिनुसँग गरेको कुराकानी भनेकी थिइन् ।

रोशनीबारे सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी भइरहेका छन् । कसैले उनी दवावमा परेर बयान फेर्न बाध्य भएको भनिरहेका छन् भने कोहीले उनको चरित्रमाथि नै प्रश्न उठाएका छन् । नेपाली कांग्रेसका नेता गगन थापाले भने अमेरिकामा बस्दै आएका छोराछोरीमाथि प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा थापाले संस्कृत भाषाको श्लोक लेख्दै भनेका छन्, रोशनीजीको छोराछोरीलाई भन्न मन लाग्यो, ‘कुपुत्रो जायत क्वचिदपि कुमाता नभवति’ (भावानुवादः छोरा कुपुत्र हुनसक्ला तर आमा कहिल्है कुमाता हुँदिनन्) यो बेला तपाईंहरूको आमा पिडामा हुनुहुन्छ। यस्तोमा अपहेलना होइन तपाईंहरूको आड र भरोसा चाहिएको छ।‬