सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैनः झलनाथ खनाल

सबै दलहरु मिलेर काम गर्नुको विकल्प छैनः झलनाथ खनाल


नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सबै दलहरु मिलेर काम गर्नुको विकल्प नरहेको बताएका छन् । 

सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले जनताले कुनैपनि एक दललाई बहुमत नदिएकाले सबै मिलेर काम गर्नुको विकल्प नरहेको बताए । आगामी १ हप्ताभित्र सरकार कस्तो बन्छ भन्ने छिनोफानो भइसक्ने भन्दै सरकारले सही दिशा दिन सक्नुपर्ने पनि उनले बताए ।  

‘यो त्रिशंकु संसद छ, कुनै एक पार्टीको बहुमत छैन, जनताले मिलेर काम गर भनेका छन् । त्यसैले यतिबेला जो कोहीले पनि मिलेर काम गर्नुको कुनै विकल्प छैन । सरकार कस्तो बन्छ भन्ने चर्चा छ । एक हप्तामा सरकार कस्तो बन्छ भन्ने दिशा आउँछ । वामपन्थी सरकार बन्नुपर्छ भन्नेकुरा पनि गरिरहेका छन्, वामपन्थी सरकार बन्ने आधारहरु हिजोको नेकपा एमालेको नेतृत्वले मोडेको छ ।’ उनले भने, ‘त्यसलाई नयाँ निर्माण गरिएको छैन । बाम लोकतान्त्रिक सरकार नै बन्ने सबैभन्दा बढी सम्भावना देखिन्छ । यस्तो बेलामा हामीले कसरी अघि बढ्ने भन्ने विषयमा सोच्नुपर्छ । हामीले खालि संख्या पु-याएर सरकार बनाउने, कुनै मन्त्रालय लिने उद्देश्य लिएर अघि बढे धेरै अघि जाँदैनौँ ।’
 
सम्मानित नेता खनालले आगामी ५ वर्षमा एकीकृत समाजवादीलाई देशको पहिलो पार्टी बनाउने लक्ष्यबाट अघि बढ्नुपर्ने बताए । 

Logo