मधेसका मुख्यमन्त्री राउतले सार्वजनिक गरे, पाँच वर्षका उपलब्धि

मधेसका मुख्यमन्त्री राउतले सार्वजनिक गरे, पाँच वर्षका उपलब्धि


मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो नेतृत्वको सरकारले पाँच वर्षको अवधिमा गरेको कामको बारेमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । नयाँ सरकार बनाउन चहलपहल सुरु भएसँगै मुख्यमन्त्री राउतले मधेस भवनमा पत्रकार सम्मेलन गरी सातवटै प्रदेशमध्ये मधेश प्रदेश सरकारले उत्कृष्ट काम गरेको दाबी गरे ।

मधेस प्रदेश सरकारले गरेको कतिपय काम संघीय सरकारले रोक्ने प्रयास गरेको तर ती सबै अवरोध र बाधालाई पन्छाउँदै आफूहरुले काम गरेको उनको दाबी थियो । प्रदेश सरकार बनेपछि विभिन्न ऐन, कानुन निर्माणदेखि लिएर तीनवटा विश्वविद्यालय स्थापना गरी त्यसलाई सञ्चालनमा ल्याइएको उनले बताए ।

मधेस प्रदेशमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउँदै उनले दलितको हकमा पनि यो सरकारले थुप्रै काम गरेको जानकारी गराए । महिला, दलित, उत्पीडित समुदायको सेवाका लागि मधेस सरकार हरहमेशा तयारी अवस्थामा रहन्थ्यो भन्दै उनले दलित आरक्षणको व्यवस्था ऐनमै गर्न लगाएको दाबी गरे ।

दलितप्रति कुनै प्रकारको विभेद तथा छुवाछुतको आरोप नलगोस भनेर उनीरुको उत्थानका लागि दलित विकास समिति नै गठन गरेको मुख्यमन्त्री राउतले जानकारी गराए ।

उनले भने, ‘दलितका लागि रासन कार्डको व्यवस्था गर्नुको साथै उनीहरुको विकासका लागि थुप्रै काम सरकारले गरेको छ ।’ जुन समुदायको जति जनसंख्या छ, त्यसले त्यति नै अधिकार पाउनुपर्ने, त्यसको त्यति नै राज्यमा प्रतिनिधित्व हुनुपर्ने काम मधेस प्रदेशको सरकारले गरेको उनको भनाइ छ । उनले यो काम सायद मधेस प्रदेशबाहेक अन्य कुनै प्रदेशले गर्न नसकेको दाबी गरे ।

सहिद परिवारको लालनपालन र उसको समाजिक सुरक्षाका लागि पनि सरकारले धेरै काम गरेको दाबी गर्दै मुख्यमन्त्री राउतले सहिदको सम्मानका लागि मधेसी सहिद प्रतिष्ठान स्थापना गरेको बताए । सोही प्रतिष्ठानमार्फत सहिद परिवारका लागि थुप्रै काम भइरहेको र अगामी दिनमा पनि हुने उनले बताए ।

उनले आफ्नो कार्यकालमा प्रतिपक्षले रचनात्मक सहयोग गरेको बताउँदै उनले प्रतिपक्षीबाट आफूले कहिल्यै पनि दबाब महसुस नगरेको उल्लेख गरे ।

आगामी सरकारले पनि मधेसी, दलित, महिला, उत्पीडित तथा सहिद परिवारलगायतको हकमा काम गर्नुपर्नेमा जोड  दिँदै मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारले थालेको कामलाई निरन्तरता दिन सुझाव दिए ।

अब बन्ने सरकार कस्तो हुन्छ भन्ने बारेमा केन्द्रीय सरकारको संरचनामा भर पर्ने उनले बताए । जनता समाजवादी पार्टी पनि मधेस सरकारको नेतृत्व गर्न तयार रहेको बताउँदै उनले पाँच वर्ष सफलतापूर्वक सरकार चलाएको कारण आउने दिनमा जसपालाई पुनः अवसर प्राप्त भएमा त्यसबाट पछाडि नहट्ने बताए । नयाँ सरकारका सम्बन्धमा पार्टीमा छलफल हुन बाँकी रहेकाले अहिले नै सबै कुरा भन्ने अवस्थामा नरहेको उनले प्रस्ट पारे ।  

Logo