जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपप्रमुख डंगोल

जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपप्रमुख डंगोल


काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताएकी छन् । 

सोमवार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् । उनले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यक्ता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताइन् । धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको उनले बताइन् । 

उनले भनिन्, ‘सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्छ । आवश्यक्ता हो की होइन भन्ने बारेमा अध्ययन भइरहेको हो, डिपिआर, त्यसपछि बनाउने नबनाउने कुरा त बाँकी नै छ । धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गर्छ भने नयाँ संरचना बनाउनै पर्दैन । जनताको चाहना विपरित कुनैपनि निर्माण काम हुनु हुँदैन । सर्वसाधारणको सुझाव बिना महानगरले कुनै काम गर्नेछैन ।’
 
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १०औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो । अहिले महानगरपालिकाको उक्त निर्णयलाई लिएर विवाद हुँदै आएको छ ।

Logo