ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा सेवा सञ्चालन प्रभावित

ट्राफिक प्रहरी कार्यालयको भवन नहुँदा सेवा सञ्चालन प्रभावित


नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् । 

जिल्ला विभाजनसँगै छुट्टिएको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) बिलखबन्दमा छ । यसअघि समग्र दाउन्ने पूर्वको ट्राफिक व्यवस्थापन पूर्व नवलपुरबाटै चल्थ्यो । ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले राजमार्ग केन्द्रित यो कार्यालय दशकौँदेखि सडक छेउमा भाडाको घरमा सञ्चालनमा रहेको कार्यालय  प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले  जानकारी दिए ।

“पश्चिम नवलपरासीको भूमहीमा जिल्ला ट्राफिकको अत्याधुनिक कार्यालय बनिसक्दा नवलपरासी पूर्वको जिल्ला ट्राफिक प्रहरी कार्यालय २०७२ देखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ”, उनले भने । अहिले यो भवन जीर्ण छ । पुरानो घरमा  यहाँ २२ ट्राफिक प्रहरी कार्यरत छन् । “कोठा अपुग हुँदा समस्या भएको छ”, थापाले भने ।  

पूर्व–पश्चिम राजमार्गको कावासोती–३ मा यसको कार्यालय रहेको छ । साँघुरो भवनसँगै अगाडि खुल्ला ठाउँ पर्याप्त नभएका कारण काम गर्न असहज हुनाका साथै सवारीसाधन राख्नसमेत समस्या भएको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले बताए । 

“हामीले सवारीसाधन यहाँ राख्न नसकेर प्रहरी कार्यालय नजिकको रिफ्रेससेन्टरमा राख्ने गरेका छौँ”, उनले भने, “यसले कार्य सम्पादनमा अप्ठेरो परेको छ, पर्खाल नै छैन, बिग्रियो भने सवारीसाधन बाटोमै राख्नुपर्छ ।”

नयाँ जिल्लामा नयाँ सदरमुकामको प्रारूप तयार भई संघ तथा प्रादेशिक कार्यालयलाई जग्गा छुट्याइँदा पनि जिल्ला ट्राफिकका लागि  भने जग्गाको टुङ्गो लाग्न सकेन । ट्राफिक प्रहरीले सडकसँग जोडिएको जग्गा खोज्दैआएको छ । दैनिक सडकको ट्राफिक व्यवस्थापनलगायत काममा संयोजन गर्न मुश्किल हुने गरेको छ । “समस्याबारे सबैलाई अवगत गराएका छौँ”, उनले भने । 

Logo