विश्व शान्ति स्थापनामा सेनाको योगदान उच्च छ -राष्ट्रपति भण्डारी

विश्व शान्ति स्थापनामा सेनाको योगदान उच्च छ -राष्ट्रपति भण्डारी


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दै आएको बताएकी छन् ।

महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गरिन् । राष्ट्रपतिले शुभकामना सन्देशमा भनेकी छन्, “संवैधानिक जिम्मेवारी कुशलतापूर्वक बहन गर्दै आएको सेनाले लामो समयदेखि राष्ट्रको प्रतिरक्षा, आन्तरिक सुरक्षालगायत संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको रूपमा विश्व शान्ति स्थापना कार्यमा पु-याउँदै आएको योगदानको उच्च कदर गर्न चाहन्छु ।”

राष्ट्रपति भण्डारीले देश र जनताको सुरक्षालगायत विकास निर्माण र प्रकृति संरक्षणमा सेनाले अहम् भूमिका खेल्दै आएको बताउँदै यस वर्ष भएका तीनै तहका निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सेनाले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

यसैबीच, सेनाले महाशिवरात्रि तथा सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सवका अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पु-याउने सबैमा शुभकामना व्यक्त गरेको छ । नेपाली सेनाले आज आफ्नो स्थापना दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सोही उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्रि बढाइँसहितको विशेष कार्यक्रम हुँदैछ ।

Logo