‘सेनाको संख्या निर्धारण राष्ट्रिय आवश्यकताको आधारमा’ -रक्षामन्त्री खड्का

‘सेनाको संख्या निर्धारण राष्ट्रिय आवश्यकताको आधारमा’ -रक्षामन्त्री खड्का


उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले, नेपाली सेनाको संख्या राष्ट्रिय आवश्यकताको आधारमा  निर्धारण हुने बताएका छन् । 

राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै रक्षामन्त्री खड्काले नेपाली सेनाको संख्यासंग जोडेर केही कुरा आएको भन्दै त्यसबारे सरकारको धारणा सार्वजनिक गरेका हुन् । 

उनले भने, ‘नेपाली सेनाको संख्यासंग जोडिएर केही कुराहरु आएका छन् । त्यस सन्दर्भमा कुनै पनि देशको सेनाको संख्या र त्यस देशको भौगोलिक अखण्डता राष्ट्रिय आवश्यकता अन्तर्राष्ट्रिय परिवेश र बेला बेलामा मुलुकको आवश्यकता अनुसार निर्धारण हुने गर्दछ । नेपाली सेनाको संख्या राष्ट्रिय समिक्षा केन्द्रको सिफारिसमा नेपाल सरकारको निर्णय बमोजिम निर्धारण हुन्छ ।’

हाल सेनामा ८१ हजार २७७ जना कार्यरत रहेको उनले जानकारी दिए । ७४ हजार ५०५ पुरुष र ६ हजार ७७२ महिला सेनामा कार्यरत रहेको उनको भनाई छ । 

मुलुकको आवश्यकताअनुसार सेनालाई परिचालन गरिएको बताएका उनले भने, ‘त्यो सेना पूर्ण रुपमा आफ्नो जिम्मेवारीमा सक्रियपूर्वक लागेको छ । सेनाको संख्या विपद व्यवस्थापन, निर्माण, शान्ति सेनामा लगाएका छौं । सामान्य ठेकेदारी प्रथामा हुन नसकेको काम सेनाबाट गराउँदै आएको छ । सेनाको उच्चतम सदुपयोग गर्दै आइरहेका छौं ।’

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा पनि नेपाली सेनाको भूमिका विश्वमा सम्मानित भएको बताएका मन्त्री खड्काले मुलुकको आन्तरिक सुरक्षामा पनि सेना जिम्मेवार भएको बताए । सेनालाई बंकरबाट ब्यारेक फर्काउने अभियान चलाइरहेको उल्लेख गर्दै उनले आगामी वर्षका लागि दुई अर्ब बजेट विनियोजन गरिएको बताए।

Logo