एक महिनामा लमजुङमा थपिए २९ उद्योग

एक महिनामा लमजुङमा थपिए २९ उद्योग


लमजुङमा एक महिनाको अवधिमा २९ उद्योग थपिएका छन् । जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयमा चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनामा मात्र विभिन्न प्रकृतिका २९ वटा नयाँ उद्योग दर्ता भएका हुन् ।

थपिएका उद्योगमा सवैभन्दा धेरै कृषि तथा वन पैदावरमा आधारित उद्योग १३ वटा रहेका छन्। यसैगरी सेवामूलक उद्योग ९ वटा, पर्यटन उद्योग ४ वटा, उत्पादमूलक उद्योग २ वटा र साझेदारी एक गरी २९ नयाँ उद्योग थप भएका हुन् ।

सोहि अवधिमा ७ वटा उद्योग खारेजी र ६८ उद्योग नविकरण भएको पर्यटन तथा उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले जानकारी दिइन । थापाका अनुसार गत साउनमा वाणिज्य तर्फ भने १८ नयाँ फर्म दर्ता, ८१ वटा नविकरण १३ वटा खारेजी भएका छन् । उद्योग, वाणिज्य दर्ता नविकरण तथा खारेजी लगायत कार्यालयबाट प्रवाह हुने सेवा मार्फत एक महिनाको अवधिमा ३ लाख ५१ हजार सात सय ५२ रुपैया राजश्व संकलन भएको कार्यालय प्रमुख थापाले जानकारी दिइन् ।

कार्यालयको तथ्यांक अनुसार गएको आर्थिक वर्ष २०७९/०८० मा २ सय ९१ उद्योग दर्ता भएका थिए । विगत चार वर्षको उद्योग दर्ता संख्या हेर्ने हो भने गत वर्ष उद्योग दर्तामा कमी आएको छ । कार्यालयमा आर्थिक वर्ष ०७६/०७७ मा ६ सय ६९, ०७७/०७८ मा ९ सय ७० र अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ६ सय ८८ उद्योग दर्ता भएका थिए ।

वाणिज्य तर्फ भने ०७७/०७८ मा ६४०, ०७८/०७९ मा ४ सय १० र गएको आर्थिक वर्ष ०७९/०८० मा २ सय ८ फर्म दर्ता भएका थिए ।

Logo