नेपाली समाजले बालेनमा एक ‘जवान’ खोजिरहेछ

नेपाली समाजले बालेनमा एक ‘जवान’ खोजिरहेछ


भारतीय सिनेमा 'जवान' अहिले हल-हलमा प्रदर्शन भइरहेको छ । चर्चा जवानकै छ, फिल्म हेरेर निस्किने नेपाली युवाहरुको मनमा यो प्रश्न उठेकै हुनुपर्छ जुन प्रश्न  मेरो पनि मनमा उठ्यो। 

भारतको जवान शाहरुख खान हो भने नेपालको जवान को ? बालेन साह ? कि म आफै ? म आफै जवानको भूमिकामा उत्रिनुको निम्ती के म संग समय छ ? हिम्मत छ ? वा के मैले मेरो जन्मभूमीमा सम्भावना देखेको छु ? यो प्रश्न जायज प्रश्न हुन्। 

शाहरुख खानको फिल्मलाई म किन नेपाल र बालेन साह जस्ता पात्रहरु संग जोड्दै छु त्यसको कारण छ । किनकी शाखरुखको जवानमा परम्परागत भ्रष्ट राजनीतिले देशलाई खोक्रो बनाउँदै लगेको देख्न सकिन्छ । त्यसैले सिनेमाले देशको सिस्टमभित्रको विकृतिमाथि जोडदार प्रहार गरेको छ । यो भारतको मात्र नभएर नेपाल जस्तो गरिब मुलुकको यथार्थता पनि हो। त्यसैले नेपाली समाज एउटा जवानको खोजीमा छ । तर नेपाली लाखौं जवान युवाहरु विदेशिएका छन्। विमानस्थलमा दिनहुँ सरदर दुई हजार ४ सय भन्दा बढि युवा काम र पढाईको लागि मुलुक छोडेर जाने गरेका छन् । लाग्छ, सिङ्गो मुलुक क्रमशः विदेश उडिरहेको छ। अघिल्लो वर्ष मात्र करिब ९ लाखले काम र अध्ययनको लागि मुलुक छाडेको तथ्याकंले पनि मुलुकको विकराल स्थिति दर्साउँछ।

भ्रष्ट नेता-नेतृत्व र राज्य प्रणालीले देश कसरी खोक्रो बनाउँछ र त्यसलाइ सुधार गर्न कुनै चमत्कारीक पात्र वा जवान अगाडि बढ्नुपर्छ । उसले जस्तो सुकै तौर तरिका प्रयोग गरोस तर न्याय र परिवर्तन हुन पर्यो । अति भएपछि समाजले यसरी सोच्ने रहेछ। 

भ्रष्ट नेता-नेतृत्व र राज्य प्रणालीले देश कसरी खोक्रो बनाउँछ र त्यसलाइ सुधार गर्न कुनै चमत्कारीक पात्र वा जवान अगाडि बढ्नुपर्छ ।

जवानमा बैंकको लोन तिर्न नसकेर आत्महत्या गर्न बाध्य किसानको समस्या देखाएको छ । सरकारी अस्पतालको बिग्रँदो अवस्था र चरम लापरवाहीका कारण  सर्वसाधारणले ज्यान गुमाएको तथ्य प्रकाश गरेको छ । केहिदिन अगाडि कान्ति बाल अस्पतालको आपतकालीन सेवा नपाएर एक बालिकाको ज्यान गयो। यस्ता घटनालाई भारतीय समाजमा देखिएको यो समस्या नेपाली समाजको व्यथासँग मेल खान्छ।

हाम्रोमा पनि खेतीको समयमा मल हाल्न नपाएर किसानको बिजोग भएको समाचार आइरहेका छन् । कृषकले पाउनु पर्ने मल माथि नै राजनीति हुन्छ, ऋण तिर्न नसकेर आत्मदाह गरेका समाचार सुनेकै हो।

जवान सिनेमामा देखाएजस्तै हाम्रोमा पनि विलासी सवारीसाधनको व्याजभन्दा किसानले चलाउने ट्र्याक्टरको लोनमा व्याज बढी छ । हाम्रोमा अझै पनि दुर्गमका जनताले गतिलो उपचार त के ज्वरो आएको बेला सिटामोल समेत खान पाएका छैनन्। त्यसैले भारतीय सिनेमाको चर्चित कथा र नेपाली समाजको यथार्थ व्यथासँग मेल खान्छ।

सिनेमाका हिरोले कानून हातमा लिँदै, सरकारलाई चुनौती दिँदै, ब्ल्याकमेल गर्दै सिस्टम सुधार गर्छन, कृषकको समस्या सुल्झाई दिन्छन्, सरकारी अस्पताल  आधुनिक प्रविधिसहित सुधार गर्दिन्छन्। हरेक पटक जात,धर्म, लिङ्ग र पार्टीभन्दा माथि उठेर मात्र भोट हाल्नु र हालेपछि आफूले चुनेको सरकारलाई बारबार चोर औंला तेर्साएर प्रस्न गर्नु भनि सिकाउँछ। 

त्यसैले त ठुलो युवा जमात सिंहदरबार आगो लगाईदिन्छु भन्दा, चोर सरकार भन्दा,नयाँ पुरानो सबै नेता चोर भन्दा, अदालतको आदेश मान्दिनँ भन्दा पनि जय बालेन भनिरहेका छन् किनकी समाजले बालेनलाई एक नेपाली जवानको रुपमा देखिरहेका छन्। सबैलाई चुनौती दिने कोहि तानाशाह नै किन नहोस,अब चाहियो भन्ने भाव पलाएको जस्तो देखिन्छ ? 

मिटरब्याजी पिडित सडकमा, ठगिएका, लुटिएका पिडितहरु सडकमा,गौर घटना पिडित सडकमा, बैंक तथा सहकारी पिडित सडकमा,सडक पिडितहरुले घेरिएको छ तर न्याय कसैले महसुस गर्न पाएका छैनन्, ठुलालाई चैन सानालाई मात्र ऎन भएको हुँदा दुर्गा प्रसाई जस्ता मानिस आफूलाई जवानको पात्रमा उतार्ने कोसिस गर्छन्,हुँदा हुँदै मध्यदिउँसो नेतामाथि खुकुरी प्रहार हुन्छ । समाज कता जाँदैछ ? किन जाँदैछ ? के चाहन्छ ? नेता नेतृत्वले बेलैमा बुझ्नुपर्ने हुन्छ नत्र हरेक नेपालीले जवानरुपी रुपधारण गर्नेछन्।

शाहरुख खान जस्तो जवान हाेइन, हाम्रो समाजलाई समानता र समावेशीतामा आधारित कानून र नियम,मिचेर हैन बचाएर समाज र प्रणाली सुधार्ने हैसियत राख्ने जवान चाहिएको हो।

ज्ञानेन्द्र शाही, बालेन साह, हर्क सम्पाङ राई,गोपी हमाल,रबि लामिछाने आदि जवान बन्ने कोसिस मै उदाएका हुन्,सक्कली जवान कोहो भन्ने कुरा त समयले देखाउला, जनताले जवान चुन्ने काम जारी राखेका छन्। 

युवाहरु देश छोड्न बाध्य बनाउने सरकारले चलाएको देशमा जवानको खोजि हुनु स्वभाविक पनि हो। तर जवान बन्ने निहुँमा धेरैले धमिलो पानीमा माछा पनि मारे होलान् तर नेपाल आफैमा शान्तिपूर्ण राष्ट्र भएको हुँदा सिनेमामा शाहरुख खान जस्तो जवान चाहिएन, हाम्रो समाजलाई समानता र समावेशीतामा आधारित कानून र नियम,मिचेर हैन बचाएर समाज र प्रणाली सुधार्ने हैसियत राख्ने जवान चाहिएको हो। त्यो पात्र को हुन् बालेन ?

शाहरुखको जवानमा फिदा भएको नेपाली समाजले बालेनमा नयाँ जवान देख्नु स्वभाविक हो । उनका कतिपय राम्रा कामले आशा जगाउने गरेको छ भने कतिपय व्यक्तित्वले निराशा दिने गरेको छ । यति हुँदाहुँदै पनि धेरैले नयाँ पीढीबाट नयाँ मुलुकको कल्पना गरेको देखिन्छ।

मुलुकमा पर्याप्त रोजगारीको अवसर नहुनु, सिप भएकाले काम गर्ने वातावरण नबन्नु। राज्यले प्रोत्साहन नगर्नु लगायतका कारण यूवाहरु विदेश पलायन हुँदै छन्। अनि अर्को कुरा लामो समयदेखि अलमलमा रहेको राजनीतिप्रति पनि नेपाली युवाको आशा हराएको छ । यस्तोमा नयाँ आशा देखाउने कोही जवानको आवश्यकता रहेको नेपाली युवाको बुझाई छ।

भारतीय सिनेमा जवान सफल भएको छ । सामाजिक विसङ्गतिका विरुद्ध बनेको सिनेमाले बक्स अफिसमा राम्रो कलेक्सन गरेको समाचार आइरहेको छ। तर सिनेमाको त्यो आम्दानीले भारतको समस्या समाधान गर्ने होइन। सबैभन्दा ठुलो कुरो यो सिनेमा चेतनाको झिल्को बनेको छ। हो त्यही चेतनाको झिल्कोले सिस्टमकाे खराबी जलाउने काम नयाँ जवानले गर्नुपर्छ। जवानको जवान सन्देश यत्ति नै हो।

Logo