कोशी सरकार निमार्णमा राप्रपा तटस्थ बस्ने

कोशी सरकार निमार्णमा राप्रपा तटस्थ बस्ने


कोशी सरकारका बारेमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ। शुक्रबार बिहान बसेको आकस्मिक केन्द्रिय पदाधिकारी बैठकले तटस्थ बस्ने निर्णय गरेको हो।

पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा कोशी सरकारको भावी नेतृत्वका लागि दावेदारी प्रस्तुत गरेका दुई उम्मेद्वार पक्षमा उभिने वा तटस्थ बस्नेलगायतका विषयमा निर्णय लिन उक्त बैठक बसेको थियो। 

सो बैठकपछि कोशी सरकार निमार्णका बारेमा सो बैठकले आधिकारिक धारणा सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले हालका लागि तटस्थ बस्ने निर्णय भएको बताए।

‘आवाश्यक परेको खण्डमा अर्को निर्णयमा जान सकिनेछ तर अहिले चाँही भने कोशी सरकारका बारेमा तटस्थ बस्ने निर्णय भएको छ,’ बैठकपछि उनले भने।

कोशी सरकारको भावी नेतृत्वका लागि नेकपा एमालेका समर्थनमा नेपाली काँग्रेसका शेखर कोइराला पक्षधर केदार कार्की र सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो दावी प्रस्तुत गरेका छन्। 

माओवादी नेता आङ्बोले गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली काँग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने काँग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित काँग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन्। 

आज प्रदेश प्रमुख परशुराम खापुङ्ले ती दुई मध्ये एकजनालाई नियुक्त गर्दैछन्। जुन नियुक्ती बारेमा राप्रपाले पनि आफ्नो धारणा बनाउन बैठक बोलाएको थियो। 

Logo