मिथिलाञ्चलका दुर्गा मन्दिरमा बेलतोडी सम्पन्न

मिथिलाञ्चलका दुर्गा मन्दिरमा बेलतोडी सम्पन्न


मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उघार्ने विधि सम्पन्न भएको छ ।

मिथिलाञ्चलमा निजी र सामूहिक रूपमा दुर्गा पूजा गरिने परम्परा रहेका कारण सामूहिक पूजाअर्चना गर्दा आश्विन शुक्लपक्ष प्रतिपदाका दिन माटोबाट बनाइएका देवी दुर्गाको प्रतिमाको स्थापना गरिने चलन रहेको छ । मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ । यो विधिका लागि षष्ठीका दिन बेल निमन्त्रण गरिन्छ, जसलाई बेलनौती भनिन्छ । 

यसअन्तर्गत बेलका रूखको एउटै हाँगाको फलेको जोडा बेललाई रातो कपडामा बेरेर बेल निमन्त्रणा गरिन्छ । सो क्रममा विधिका लागि तय गरिएको बेलको रूखतिर बाजागाजाका साथ श्रद्धालुहरू गीतनाद भजन गाउँदै पुग्ने परम्परा रहेको छ । 

सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर जाने गरिन्छ । शिवपार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ । पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखी सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

Logo