लागूऔषध दुर्व्यसनविरुद्ध अभियानः नाकाबाट फर्काइए १८०० दुर्व्यसनी

लागूऔषध दुर्व्यसनविरुद्ध अभियानः नाकाबाट फर्काइए १८०० दुर्व्यसनी


प्रहरीले लागूपदार्थ र लागूऔषध ओसारपसार, कारोबार एवं प्रयोग नियन्त्रण गर्न कडाइ गरेपछि दुर्व्यसनीहरु सीमा नाकाबाट भारतीय बजार पुग्ने गरेका छन्।

भारतीय बजारमा लागूपदार्थ सेवन गर्ने र कतिपयले लुकाएर ल्याउने प्रयास पनि गरिहेका हुन्छन्। यसरी लागूऔषध प्रयोगका लागि भारततिर जानेहरुको पनि प्रहरीले निगरानी गर्न थालेको छ। 

यस क्रममा पछिल्लो पटक प्रहरीले ६५ जना लागूऔषध प्रयोगकर्ताहरुलाई भारततर्फ जानबाट रोकेको छ। यो आर्थिक वर्षको तीन महिनाको अवधिमा १ हजार ८०० जनालाई प्रहरीले नाकाबाट फर्काएको छ।

धरान, इटहरी, केराबारी, बेलबारी, उर्लाबारी, विराटनगरलगायत सुनसरी र मोरङका विभिन्न स्थानबाट लागूऔषध सेवनका लागि भारत जान लागेकाहरुलाई प्रहरीले फर्काएको हो।

उनीहरु मोरङको रानी, दरैया लगायत सीमा नाकाबाट भारतको जोगबनीतर्फ जान लागेका थिए। जोगबनीमा पुगेर लागूऔषध सेवन गर्ने र फर्कने क्रम बढेपछि प्रहरीले निगरानी बढाएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार त्यसरी भारत जानबाट रोकिएको लागूऔषध सेवनकर्ताहरुलाई सामूहिक रुपमा सम्झाइ बुझाइ गर्ने गरिएको छ।

उनीहरुलाई ‘क्याम्पेन अगेन्स्ट नार्कोटिक्स’ को होल्डिङ सेन्टरमा राखेर परामर्श दिने गरिएको छ। त्यस क्रममा लागूऔषध दुरूपयोगबाट हुने गम्भीर व्यक्तिगत, पारिवारिक एवम् सामाजिक समस्याहरूको बारेमा चर्चा गर्नुका साथै यस्तो कुलतबाट बच्न अपनाउन सकिने सिर्जनात्मक उपायहरूको बारेमा समेत जानकारी गराइएको दाहालले बताए।

जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको अभियानअन्तर्गत यो आर्थिक वर्षको तीन महिनामा १ हजार ८०० जनाभन्दा बढी लागूऔषध सेवनकर्ताहरुलाई नाकाबाट घर फर्काइएको जनाइएको छ।

Logo