राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न माग

राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा एनसेलको शेयर बिक्रीबारे छानबिन गर्न माग


सभामुख देवराज घिमिरेलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएको छ । बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा युनियनले एनसेलको शेयर खरिद बिक्री प्रकरण छानबिनको माग गर्दै ज्ञापनपत्र बुझाएको हो । 

नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौं ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयर नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्वजानकारी नगराई बिक्री गर्नुले पूँजीगत लाभ कर लगायत कर छलीको उद्देश्य देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 
विज्ञप्तिमा लेखिएको छ, ‘यस सम्बन्धमा सत्यतथ्य छानबिन गरी सरकारलाई आवश्यक दबाब सिर्जना गर्न सडकमा विरोध प्रदर्शन गरिरहेको जानकारी गराउन चाहन्छौँ । एउटा खरबौँको सम्पत्ति रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौं ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी नगराई बिक्री गर्नुले पूँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिन्छ । यस सम्बन्धमा शेयर बिक्री प्रकरण, एनसेलको आय–व्ययमाथि विस्तृत छानबिन गर्न आवश्यक छ ।’

एनसेल शेयर खरिद बिक्री प्रकरण आफैंमा अपारदर्शी तथा अविश्वसनीय रहेको भन्दै नेपाल सरकारलाई स्वामित्व हस्तान्तरणमा आलटाल गर्ने उद्देश्य राखेको र नेपालमा विदेशी लगानीको वातावरण बिगार्ने गतिविधि भएको युनियनले जनाएको छ ।

प्रतिनिधि सभाअन्तर्गत उच्चस्तरीय संसदीय छानबिन समिति वा विशेष समितिमार्फत छानबिन गरी सत्य तथ्यपत्ता लगाई ठोस समाधान गर्न माग गरिएको छ ।

Logo