कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको संख्या १५ हजार नाघ्यो

कतारमा कोरोनाबाट स्वास्थ्य लाभ गर्नेको संख्या १५ हजार नाघ्यो


  • तिलु शर्मा पौडेल
    दोहा कतार ।

कतारको स्वास्थ्य मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट आज सम्मकै उच्च संङ्ख्यामा स्वास्थ्य लाभ गरेका छन् ।

मन्त्रालयले पछिल्लो २४ घन्टाको विवरण सार्वजनिक गर्दै २ हजार ११६ जनाले स्वास्थ्य लाभ गरेको जनाएको छ । यो सँगै स्वास्थ्य लाभ गर्नेको कुल संख्या १५ हजार ३ सय ९९ पुगेको छ । भाइरसबाट थप ३ जनाको मृत्यु भएको जनाएको छ। आज मृत्यु हुनेहरु २५, ५० र ८१ वर्षीय रहेका छन् । यो सँगै कतारमा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ८५३ जनामा गरिएको परीक्षणमा नयाँ १ हजार ९६७ जनामा भाइरस सङ्क्रमण देखिएको छ । कतारमा संक्रमित हुनेहरु मध्ये आजको संख्या सबैभन्दा उच्च हो । यससँगै सङ्क्रमितको सङ्ख्या ५० हजार ९ सय १४ पुगेको छ भने ३५ हजार ४ सय ८२ जनाको उपचार चलिरहेको छ ।

१ हजार ६०८ जनालाई डाक्टरहरूको निगरानीमा क्वारेन्टाइनमा राखिएको छ भने २६१ जनालाई अस्पताल भर्ना गरिएको छ । थप २३ जनासहित आइसियुमा रहने बिरामीको सङ्ख्या २१४ रहेको छ । कुल २ लाख ७ हजार ३३ जनामा कोरोनाको परीक्षण गरिएको मन्त्रालयले बताएको छ । केही दिन यता सङ्क्रमितको सङ्ख्या उच्च दरमा बृद्धि भैरहेको छ । स्वास्थ्यमा कुनै समस्या भएमा मैदर, रवाद्त, उमसलाल र ग्राफामा रहेको हेल्थ सेन्टरमा गएर परीक्षण गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे १६००० मा सम्पर्क गर्न समेत सकिनेछ ।

Logo