मकवानपुरका संक्रमित थाहानगरका होइनन्- नगरपालिका

मकवानपुरका संक्रमित थाहानगरका होइनन्- नगरपालिका


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार बिहानै कोरोना भाइरस संक्रमितहरू थपिएको एउटा सूचना जारी गर्‍यो। सूचनामा मकवानपुरका एक र बाँके जिल्लाका ८ जनासहित ९ जना संक्रमित थपिएको उल्लेख थियो ।

बाँकेका संक्रमितहरू नैनापुर वडा नम्बर १, ३ र ५ का व्यक्तिहरू भएको उल्लेख भएपनि मकवानपुरका संक्रमितको भने कुनै ठेगाना खुलाएको छैन। मन्त्रालयको सूचनामा मकवानपुर निवासी ३७ वर्षीय पुरुष मात्र भनिएको छ।

सूचना सार्वजनिक भएपछि मकवानपुरमा सन्त्रास मात्रै छाएको छैन, कुन ठाउँका हुन् भन्ने बिषयमा अन्यौलता समेत पैदा भएको छ। यस्तै अन्यौलताका बीच काठमाडौँसँग सीमा जोडिएको मकवानपुरको थाहा नगरपालिकाले भने संक्रमित व्यक्ति आफ्नो क्षेत्रको नभएको जनाएको छ।

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जेठ विहान सार्वजनिक गरेको कोरोना पुष्टिको विवरण अनुसार मकवानपुरको कोरोना संक्रमित थाहा नगरपालिकाको नभएको पुष्टि भएको छ ।’नगरपालिकाले फेसबुकमा सूचना जारी गर्दै भनेको छ।

काठमाडौँसँग नजिक हुनु र  यहाँको तरकारी नियमितरूपमा काठमाडौँमा ओसारपसार भइरहेकाले  थाहानगरका व्यक्ति हुन सक्ने अनुमान गरिएको थियो। बिहिवार मात्रै कालिमाटी तरकारी तथा फलफूल बजारका करिव एक हजार जनाको नमुना संकलन गरिएको थियो। ति मध्ये ४ जनाको आरडीटी पोजिटिभ देखिएको थियो।

स्वास्थ्य मन्त्रालयले भने संक्रमितहरूको विवरण गोप्य राख्नुपर्ने जनाएको छ। यो समाचार तयार पार्दासम्म मकवानपुरका २ जनासहित नेपालमा २५८ जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ३६ जना निको भएका छन् । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

मन्त्रालयको सूचना 

 

यो पनि

मकवानपुरका २ जना संक्रमित, चित्लाङ निवासी संक्रमित भन्छन्- ‘म संक्रमित हुँ तर स्वस्थ छु’

Logo