लकडाउनको अवधिमा ३ हजार विदेशी स्वदेश फर्किए (भिडियोसहित)

लकडाउनको अवधिमा ३ हजार विदेशी स्वदेश फर्किए (भिडियोसहित)


काठमाडौं ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा करिब दुई दर्जन अन्तर्राष्ट्रिय उडान भएका छन् ।

चैत १० देखि आज २६ गतेसम्म विभिन्न अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक कम्पनीले १९ वटा अन्तर्राष्ट्रिय उडान गरेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यी सबै उडान चार्टर्ड र केही कार्गो उडान हुन् । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले लकडाउनको अवधिमा १९ वटा अन्तर्राष्ट्रिय उडानबाट तीन हजारभन्दा बढी विदेशी स्वदेश फर्किएको जानकारी दिए ।

यी उडानमध्ये सबैभन्दा बढी कतार एयरवेजको नौ, नेपाल एयरलाइन्सको चार तथा कोरियन, मलेसिया, मालिन्दो, इत्तिहाद, चेकरिपब्लिकन र टिटान एयरवेजको समान एक–एक उडान भएका छन् । यसबीचमा विशेषगरी युरोपेली मुलुक जर्मनी, फ्रान्स, न्यूजिल्याण्ड लगायतका तथा मलेसिया, चेकरिपब्लिकन, अमेरिका र बेलायतका नागरिक घर फर्किएका हुन् ।

विभिन्न मुलुकले नेपालमा रोकिएका आफ्ना नागरिकलाई चार्टर्ड उडानमार्फत फिर्ता लगिरहेका छन् । यसैबीच बेलायत र जर्मनले आज ५४० भन्दा बढी नागरिक फर्ता लगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।


 

Logo