वैकल्पिक तरकारी बजारका लागि काठमाडौँ महानगरद्वारा ११ स्थान उपलब्ध

वैकल्पिक तरकारी बजारका लागि काठमाडौँ महानगरद्वारा ११ स्थान उपलब्ध


काठमाडौं ।

कोरोना रोकथाम तथा संक्रमण हुन नदिनको लागि काठमाडौं महानगरले वैकल्पिक ११ स्थानलाई तरकारी बजारको लागि उपलब्ध गराउने भएको छ। कालीमाटीसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा हुने बढ्दो भिडभाडलाई नियन्त्रण गर्न महानगर क्षेत्र भित्रका विभिन्न ११ स्थानबाट स्थायी रुपमा बिक्री गर्न ठाउँहरु उपलब्ध गराउने महानगरले जनाएको छ।

महानगर क्षेत्र भित्रका कलंकी चोक, वाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गंगबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तिनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधी भरी बैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको हो ।

महानगरका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीका अनुसार पहिलो चरणमा महानगरले परिक्षणका लागि ११ ठाउँबाट थोक बिक्रिका लागि स्थान उपलब्ध गराउन लागेको हो । सबै ठाउँमा सबै खाले फलफूल र तरकारी उपलब्ध गराए पछि कालीमाटी र बल्खुमा हुने भिडभाड कम हुने उनको भनाइ छ ।

आजै काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको बैठकले फलफूल तथा तरकारी बजारमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भिडभाड नियन्त्रण–व्यवस्थापन गर्न सामाजिक दूरी कायम गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, बैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल नेपाल भित्रिदा उक्त तरकारी तथा फलफूलसँग भारतीय नागरिक पनि नेपाल प्रवेश गर्ने हुँदा कोरोनाको संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भन्सार विन्दुमा नै भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूल आयातमा पूर्ण रुपमा रोक लगाउन माथिल्लो निकायमा अनुरोध गर्ने साथै व्यवसायीहरुले फलफूल तथा तरकारी भारतबाट आयात गर्न नपठाउने पनि निर्णय गरेको छ ।

फलफूल तथा तरकारी बजारमा उपभोक्ताबाट लिने गरेको अस्वभाविक मूल्यले गर्दा थोक मूल्य र खुद्रा मूल्यमा देखिएको मूल्य अन्तरलाई यथार्थपरक बनाउने, त्यसका लागि सबै पक्षले आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ ।

Logo