गजल – १

७ प्रेमिल गजल

७ प्रेमिल गजल


गजल – १

गुलाफको फूल मनपर्छ मलाई
जवानीको भूल मनपर्छ मलाई

चिहाएर हेर्छौं र के–के गर्छौं
तिम्रो चुलबुल मनपर्छ मलाई

माया हो माया संसार अट्ने माया
पिरतीको हूल मन पर्छ मलाई

यो प्यारको आकासमा उड्दै आउने
चरी बुलबुल मन पर्छ मलाई

जवानीको भारी बोकेर हिंडिरहेछु
यौवनको विगुल मनपर्छ मलार्ई

 

गजल – २

चुराको झङ्कार बजाऊ म आउँछु
तिम्रो त्यो दिलमा सजाऊ म आउँछु

जुनेली रातमा वर–पीपल साथमा
घुम्टो खोल्दै थोरै लजाऊ म आउँछु

छम् छम् पाउजुको मधुर धुन उराल्दै
इशारामा गीत गाऊ म आउँछु

ओठमा लालीे जूनको, लिपेर मोहनी
पिरतीको घर बसाऊ म आउँछु

माथ खान्छ अब त्यो कालो रातले
झम्के साँझलाई फकाऊ म आउँछु

गजल – ३

 
मैयाँ मेरी मैयाँ हाँस मेरी मैयाँ
बजाएर पाउजु नाच मेरी मैयाँ ।

मादलुको तालमा बाँसुरीको धुनमा
लरक्क कम्मर भाँच मेरी मैयाँ ।

म थुङ्गा–थुङ्गा बटुल्दैछु प्यारको
माला तिम्रै हातले गाँस मेरी मैयाँ ।

सुहाउन्न तिम्लाई नजर झुकाएको
नबनाउ मुहार उदास मेरी मैयाँ ।

गजल – ४

हातमा चुरा लाउँथें सिँउँदोमा सिन्दुर भर्थे
तिमिलाई पाएँ भने साँच्चै म के गर्थें ?

सबले भन्छन् यो जवानी सुनकोे बिहानी हो
बनेर सुवासिनी सुवाष मीठो मीठो छर्थें

बैंशको लाली अधरमा, नशा छ रे ! नजरमा
सुहाग रातको के कुरा, दिन पनि म हर्थे

मलाई के मतलव दुनियाँको अझै के–के गर्छु
तिमी छाँगा छहरा भए झरना बनि म झर्थे

हातमा चुरा लाउँथें सिँउँदोमा सिन्दुर भर्थे
तिमीलाई पाएछु भने साँच्चै म के–के गर्थें

 

गजल – ५

कति राम्री भाकी, कुन भगवानले बनायो तिमीलाई
परीकै रूप दिई धर्तीमा कसले पठायो तिमीलाई

म भएँ मग्नमुग्ध तिम्रो रूप हेरी, अँगालोमा बेरी
सबको मन हर्दै हिड्न कस्ले सिकायो तिमीलाई

को टिक्छ तिम्रो छेउ ? बाल्दै आउँछौ रूपज्योति
कि स्वर्गैको इन्द्रजीले हो कि सघायो तिमीलाई

सक्दिनँ म बयान गर्न, तिम्रो सुर सौरभीको
धर्तीमा ल्याई फूलजस्तै कसले सजायो तिमीलाई

जून जस्तै बलेकी छौ स्वर्गैबाट झ¥या हौ कि
आई अप्सरा धर्तीमा कि, अमृत चटायो तिमीलाई ।

गजल – ६


मलाई पिलाऊ न पिलाऊ जवानीको रस पिलाऊ
नजरमा नजर मिलाऊ जवानीको रस पिलाऊ

चञ्चल चञ्चल छ मन हलचल हलचल छ तन
मेरो हजुर नजिक आऊ जवानीको रस पिलाऊ

बैंशको यो रापले तिर्खाएकी छु म भोकाएकी छु
बादल बनी शीत वर्षाऊ जवानीको रस पिलाऊ

वसन्तमा पनि यहाँ मरुभूमि भै बाँचिरहेछु म
खहरे भएर नबिलाऊ जवानीको रस पिलाऊ

गजल – ७


छोटो–छोटो पहिरनमा आयौ यहाँ क्या ! बबाल भो
सारा सहर कब्जा जमायौ यहाँ क्या ! बबाल भो

लिपेर मोहनी ओठमा राखेर जवानी दाउमा
यौवनको खोलो बगायौ यहाँ क्या ! बबाल भो

स्वर्गकी तिमी परी लौ न नि ! धर्तीमा झरी
कसैको घरवार उठायौ यहाँ क्या ! बबाल भो

काेही पर – पर भाग्छन्, कोही पच्छ्याउँछन्
कस्तो हलचल मच्चायौ यहाँ क्या ! बबाल भो 

 

Logo