उपत्यकाका १८ वटा पेट्रोल पम्प हटाइने

उपत्यकाका १८ वटा पेट्रोल पम्प हटाइने


काठमाडौं ।

काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिए। उनले पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइने बताए ।

नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाडौँ उपत्यकाको बढी मात्रामा सवारीसाधन आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको बताए ।

उनले निगमलाई प्राप्त पत्र अनुसार सम्बन्धित पेट्रोल पम्पलाई समेत निगमका तर्फबाट पत्राचार भएको जानकारीसमेत दिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काठमाडौँका १२ र ललितपुरका ६ वटा पेट्रोल पम्प हटाउन निगमलाई निर्देशन दिइएको छ ।

उनले पेट्रोल पम्पलाई पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न १५ दिनको समयावधि दिइएको बताए । सो अवधिभित्र सम्बन्धित पेट्रोल पम्पले कहाँ कुन ठाउँमा सार्ने हो सोको आयल निगमको अनुसूचीमा भर्नुपर्छ, त्यसपछि निगमले सो ठाउँबारे जाँचबुझ गरी थप प्रक्रिया अगाडि बढाउनेछ । निगमबाट पेट्रोल पम्पलाई माघ ८ गते पत्राचार भएको हो ।

काठमाडौँबाट हटाइने पेट्रोल पम्प

कोत थुकु पेट्रोल पम्प, बालाजु
जयन्ती पेट्रोल पम्प, त्रिपुरेश्वर
कनक पेट्रोल पम्प, टेकु
मायाराम भोलाराम पेट्रल पम्प, त्रिपुरेश्वर
बाबा पेट्रोल पम्प, कलङ्की
श्यामा पेट्रोल पम्प, कलङ्की
त्रिशूल पेट्रोल पम्प, कलङ्की
भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
कामाख्या पेट्रोल पम्प, कोटेश्वर
जुबी पेट्रोल पम्प, बौद्ध
बराल पेट्रोल पम्प, बौद्ध
सीता पेट्रोल पम्प, महाराजगञ्ज

ललितपुरबाट हटाइने पेट्रोल पम्प

बज्रबाराही पेट्रोल पम्प, चापागाउँ
बालकुमारी पेट्रोल पम्प, चापागाउँ
टीका भैरव डिजेल स्टोर, चापागाउँ
साझा पेट्रोल पम्प, जावलाखेल
एच पी इन्टरनेसनल, जावलाखेल
गायत्री पेट्रोल पम्प, जावलाखेल
गोरखापत्रबाट

Logo