आफन्तबाटै असुरक्षित महिला : जबर्जस्ती करणीमा हजुरबुबादेखि छोरासम्म संलग्न

आफन्तबाटै असुरक्षित महिला : जबर्जस्ती करणीमा हजुरबुबादेखि छोरासम्म संलग्न


काठमाडौं,

प्रहरीले तयार गरेको एक तथ्यांकले नेपाली महिला घरभित्रकै सदस्य र चिनजानका आफन्तहरूबाटै असुरक्षित रहेको देखाएको छ । प्रहरीले चालू आर्थिक वर्षका घटनालाई आधार बनाएर पीडित र पीडकको नाताको आधारमा निकालेको तथ्यांकले जबर्जस्ती करणीका धेरैजसो घटना घरभित्रकै सदस्य र चिनजानका व्यक्तिहरूबाटै हुने गरेको देखाएको हो । तथ्यांकले हजुरबुबा, बुबा, झड्केलो बुबा, ससुरा, आमा र छोराबीच नै करणीका घटना भएको देखाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी विश्वराज पोखरेलले सामाजिक सञ्जालको गलत प्रभाव, मूल्य–मान्यता, धर्म र संस्कृतिमाथिको प्रहार, यौन सम्बन्धी छाडापन तथा यौन तृष्णा र भोग जगाउने साधनको प्रयोगका कारण नाताभित्रै समेत करणीका घटना बढेको बताए ।

समाजशास्त्री बिन्दु पोखरेलले भने विगतदेखि नै महिलामाथि हुने गरेको थिचोमिचो र अन्यायका कारण यस्ता घटना हुने गरेको बताइन् । ‘महिलामाथि हुने हिंसा र दमनका कारण यस्ता घटना हुने गरेका छन् । यस्ता घटना विगतदेखि नै हुँदै आएका छन् । अहिले सञ्चार माध्यमका कारण बाहिर आउन थाले,’ समाजशास्त्री पोखरेलले भनिन् ।

उनका अनुसार महिलालाई दोस्रो दर्जाको नागरिक सम्झने संस्कार, सम्पत्तिमाथि वञ्चित गर्ने संस्कृति, महिलालाई नै सम्पत्ति सोच्ने संस्कार, शिक्षा र पहुँचमा अन्याय आदिका कारण महिलाहरू असुरक्षित हुने गरेका हुन् ।

प्रहरी तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७५/७६ को चैतसम्ममा भएका १ हजार ८७७ वटा जबर्जस्ती करणीका घटनामा ७६१ घटना चिनजानका व्यक्तिहरूबाटै भएको देखाएको छ । यसैगरी, छिमेकीबाट ५०२ वटा करणीका घटना भएको देखाएको छ भने अपरिचित व्यक्तिहरूबाट ३८९ वटा करणीका घटना भएको तथ्यांक छ ।
राजधानीबाट

Logo