अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको दनक, ‘घर फर्किनुको विकल्प छैन्’

अस्थायी शिक्षकलाई शिक्षामन्त्रीको दनक, ‘घर फर्किनुको विकल्प छैन्’


सिमरा । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले अस्थायी शिक्षक घर फर्किनुको विकल्प नरहेको बताएका छन् । जुनसुकै हालतमा पनि उनीहरुको माग सम्बोधन गर्न नसकिने भन्दै घर फर्किनुको विकल्प नरहेको बताएका हुन् ।

बाराको सिमरा बिमानस्थलमा शुक्रबार पत्रकारसँग कुरा गर्दै पोखरेलले अस्थायी शिक्षकहरुको समस्या समाधानका लागि परीक्षा प्रणालीद्वारा कम्तिमा ४० अंक ल्याउनेलाई सेवामा स्थायित्व दिने ब्यवस्था गरिएको बताए । अब फेरि दोस्रो परीक्षाको सम्भावना नरहेकाले उतीर्णसमेत हुन नसकेका शिक्षकहरुलाई सम्मानपूर्वक घर फर्काउने वातावरण बनाइने बताए ।

२०४९ सालदेखि अस्थायी रुपमा सेवामा रहेका शिक्षकहरुलाई स्थायी ब्यवस्थापनका लागि अघिल्लो वर्ष लिइएको परीक्षामा उतीर्ण हुनेहरुको धमाधम नियुक्ति प्रकृया अघि बढे पनि अनुतीर्णहरुलाई अर्को कुनै ब्यवस्था गर्न नसकिने शिक्षामन्त्री पोखरेलको दाबी छ ।

अनुतीर्ण शिक्षकलाई सम्मानपूर्वक बिदाइका लागि ‘गोल्डेन हेन्डस चेक’ दिइने बताए । शिक्षकको अनुतीर्णको संख्या सोचेभन्दा बढी भएकाले सो रकम दिनसमेत नसकिएको उनको तर्क छ ।

बिदाइका लागि ५ अर्ब रकम छुट्याइएकोमा ९ अर्ब लाग्ने भएपछि सरकारले अनुतीर्ण भएका सबै शिक्षकलाई ‘गोल्डेन हेन्डस चेक’ सहितको बिदाइ गर्नसमेत समस्या भइरहको मन्त्री पोखरेलले बताए । यद्यपि, अर्थ मन्त्रालयमा छलफल चलिरहेकोले थप रकम ब्यवस्थापन गरेर भए पनि बिदाइ गर्ने तयारी भइरहेको उनको तर्क छ ।

Logo