नेपालको पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली नेपाल आउने

नेपालको पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली नेपाल आउने


काठमाडौँ

पेट्रोलियम अन्वेषण गर्नको लागि आगामी मे महिनामा चिनियाँ टोली नेपाल आउने भएको छ । पाँच समुहमा रहेर नेपालको पेट्रोलियमको वस्तु स्थिति के कति मात्रामा रहेको अर्थात परिमाणको तथ्यांक सो टोलीले निकाल्नेछ ।

नेपाल र चीनबीच पेट्रोलियम अन्वेषणको लागि दुई देशबीच पहिले नै सम्झौता भइसकेको छ । पेट्रोलियम खानी अन्वेषणको लागि चीनको बेइजिङमा नेपाली प्रतिनिधिमण्डल र चीन सरकारबीच फागुन १५ गते सम्झौता भएको थियो । सोही सम्झौता कार्यान्वयनको लागि चिनियाँ टोली नेपाल आउन लागेको पेट्रोलियम अन्वेषण परियोजना लैनचौरका प्रमुख सुधिर रजौरेले बताउनुभयो ।

सम्झौता अनुसार चीनले नेपालको बुटवल, पाल्पा, सुर्खेत र दैलेख गरी चार क्षेत्रमा अन्वेषण गर्नेछ । त्यस मध्ये दैलेख, पाल्पामा ड्रिलिङको काम गर्नेछ । विगतमा भएको प्रारम्भिक खोज अनुसन्धानलाई मुर्तरूप दिनको लागि सम्झौताले बाटो खुलेको थियो ।

गतवर्ष चीन सरकारको स्वामित्वमा रहेको चाइना जिओलोजिकल सर्भको प्राविधिक टोलीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतरा–बराह क्षेत्रमा रहेका पेट्रोलियम खानीको प्रारम्भिक अध्ययन गरेको थियो ।

नेपालमा पेट्रोलियम खानी रहेको भनिएको क्षेत्रमा के कति कुन परिमाण र तह रहेको छ, सोको व्यावसायिक तथा आर्थिक सम्भाव्यता अध्ययन हुने प्रमुख रजौरेले बताउनुभयो । नेपालको तर्फबाट खानी विभागका महानिर्देशक डा. सोमनाथ सापकोटा र चीनको तर्फबाट भाइस प्रेसिडेन्ट वाङ कुनले सम्झौतामा हस्ताक्षर गर्नु भएको थियो ।
नेपाल समाचारपत्रबाट

Logo