मिडियामा महिलाः चुनौतीको चाङसँगै अवसरको बिटो

मिडियामा महिलाः चुनौतीको चाङसँगै अवसरको बिटो


(सुजाता मुखिया) 

हाम्रो समाजले महिलालाई केवल गृहणीको रुपमा उभ्याउने गरेको छ । महिला भनेको ति हुन्, जसले घर सम्हाल्नुपर्छ । भात पकाउनुपर्छ । जुठो भाँडा माझ्नुपर्छ । बालबच्चा स्याहार्नुपर्छ । लुगाफाटो धुनुपर्छ । सासु ससुराको रेखदेख गर्नुपर्छ । भलै यी कुरा खराब होइनन्।  तर, यी परिधि र दायित्वभित्र मात्र महिलालाई खुम्च्याएर राख्नु भनेको अत्यन्तै निन्दनीय सोच र शैली हो ।

परम्परागत सोच राख्ने मात्र होइन्, आफुलाई आधुनिक, शिक्षित, सम्भ्रान्त भन्नेहरुको परिवारमा पनि महिलाको भूमिका चुलो चौकोमा खुम्चिएको छ । महिलालाई विशेषगरी बाहिरको काममा लगाउने गरिदैन । घरको संघार नाघेर बाहिर जानसाथ महिलामाथि नराम्रो दृष्टि राखिन्छ । त्यसैले महिलाहरु आफ्नो इच्छा र आकंक्षालाई दबाएर बस्न बाध्य छन् ।

पछिल्लो समय भने महिलाहरुको अवस्था फेरिएको छ । शैली फेरिएको छ । परिवेश, संस्कार पनि फेरिएको छ । महिलाहरु पनि चार दिवारको जंघार पार गर्दै अघि बढेका छन् । र विभिन्न पेशा–व्यवसायमा आफुलाई उभ्याउन थालेका छन् । संचार तथा मिडियामा पनि यही किसिमको उपस्थिति देखिन थालिएको छ ।

अहिले अधिकांश मिडियामा महिला पत्रकार, फोटोग्राफर वा अन्य भूमिका निर्वाह गरिरहेका छन् । घरमा आमा, बुहारी, छोरी लगायतको जिम्मेवारी पनि बहन गरेकै छन् । राज्य चौथो अंग मानिने मिडियामा पनि उनीहरुले आफ्नो उपस्थितिलाई बलियो पार्दै आएका छन् । अरु जस्तै मिडियामा काम गर्ने महिलाहरुले पनि घर परिवार, समाज आदीसँग संघर्ष गर्दै अघि बढ्दैछन् ।

पछिल्लो समय नेपालको पत्रकारिता क्षेत्रमा महिलाहरुको आकर्षण बढ्दो छ । पहिलेको तुलनामा सञ्चार माध्यमहरुको वृद्धि भएसँगै महिला पत्रकारहरुको सहभागिता पनि बाक्लिदैछ । मिडियामा काम गर्ने महिला पत्रकारहरु आर्थिक समस्यासँगै अन्य चुनौतीको सामना गर्दै अघि बढेका छन् । महिलाहरु आफ्नो मात्र होइन, समाजकै पीडा, अभाव, दुःख, समस्या सम्बोधन गर्ने ठाउँमा पुगेका छन् । तर, मिडियामा महिलाहरु सहभागीता जुन रुपमा र जसरी हुनुपर्ने त्यो चाहि हुन सकेको छैन ।

अझैपनि महिलाहरु पुरुष झै उन्मुक्त ढंगले काम गर्न पाउँदैनन् । महिलाहरुले घरबाट निस्कन र घर पुग्ने समय सीमा आफैले तय गर्नुपर्छ । यदि उनीहरु आउने जाने टुंगो भएन भने नराम्रो दृष्टि राखिन्छ । रिपोर्टिङको लागि जतिबेला पनि तम्तयार भएर बस्नुपर्ने र राती अबेरसम्म अफिसको कामले बस्नुपर्ने हुन्छ ।

पत्रकारिता गर्दै घरधन्दा पनि सम्हाल्नुपर्ने दोहोरो चापमा उनीहरु हुन्छन् । काम गरिरहँदा पनि उनीहरुलाई घरको समस्याले सताइरहेको हुन्छ । अफिसको र घरको कामबीचको समय समायोजन मिलाउन निकै कठिनाई हुन्छ । घर परिवार, छोराछोरी, श्रीमान् सबैलाई सन्तुष्ट र खुसी बनाएर मात्र आफ्नो काम गर्नुपर्ने अवस्थामा रहेको नारी मासिक पत्रिकाकी उप–सम्पादक लक्ष्मी भण्डारी थापाको भनाई छ ।

आम सञ्चार तथा पत्रकारिताको अध्यापन समेत गराउँदैं आएकी लक्ष्मीले पनि धेरै समस्या भोग्दै आएकी छन् । एकातिर आफ्नो कार्यक्षेत्रमा बलियो उपस्थिति राख्नुपर्ने चुनौती छ भने अर्कोतिर घरपरिवारलाई पनि सम्हाल्दै लानुपर्ने बाध्यता छ ।

लक्ष्मी भण्डारी थापा (उप–सम्पादक, नारी)
नेपालमा महिलाहरु पत्रकारिता क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि माथिल्लो तहमा पहुँच पुग्न सकेको छैन् । नेपालमा मुलधारका मिडियामा महिला प्रधान सम्पादक वा सम्पादक न्यून छ । विगतमा व्यक्तिगत चुनौती र अप्ठ्याराहरुलाई चिर्दै कान्तिपुरमा काम गरेको १८ बर्ष पुगिसकेको छ । मैले पत्रकारिता गर्दा हाम्रो समाजमा महिलाले पनि पत्रकारिता गर्छन र ? भन्ने धारणा थियो । तर अहिले महिला पत्रकारलाई हेर्ने दृष्टिकोण परिवर्तन भइसकेको छ । अहिले समाज र परिवारमा पत्रकारिता पेशा गर्ने महिलाको इज्जत, नाम, प्रतिष्ठा, पावर, प्रभाव छ ।

महिलाले मात्र काम गर्ने ट्याग भएको पेशा नर्स, एयर होस्टेज, ब्युटिसियन जस्ता पेशामा मात्र नभएर सबै पेशामा महिलाको सहभागिता बढ्दो छ ।  महिलाहरुले अझै आफुलाई तिखार्दै अघि बढ्नुपर्छ । अबस्था सुधार उन्मुख छ।  हामीले संख्यात्मक भन्दा पनि गुणात्मकमा ध्यान दिन सके राम्रो हुन्छ । यो पेशा चुनौतीपूर्ण रहेकोले साहस र धैर्यता हुनु आवश्यक छ ।

गीता भुजेल (सम्वादाता, अटो डट कम)
मैले २०६७ सालमा एसएलसी दिए । स्कूलदेखि नै रेडियोमा बोल्ने रहरले गर्दा रेडियो पत्रकारिताको तालिम लिए । तालिमकै क्रममा काठमाडौंकै सिजेएमसी एफएममा काम गर्ने मौका पाए । रेडियोमा लागुपदार्थ विरुद्धको कार्यक्रम चलाए, २ वर्षसम्म विना पारिश्रमिक ।

रेडियोबाट अनलाइन पत्रकारीतामा गए । ३५ सय तलवमा । महिलाहरुको निकै कमि छ मिडिया क्षेत्रमा । भित्र बस्ने त धेरै हुन्छन् । रिपोटिङ गर्ने खासै भेटिदैन् । दुख हुन्छ भनिन्छ त्यसैले पनि होला । महिलाहरुलाई मिडियामा खासै समस्या केही छैन् । महिलाहरुको सहभागिता कम भएर होला मैले चाहि धेरै सहयोग पाए । साथ त्यसमा म भाग्यमानी हुन सक्छु ।

पहिलो पटक रिपोटिङको लागि उपत्यका बाहिर जाँदा मात्र मिडियामा कम महिला भएको महसुस भएको थियो । सबै पुरुष म एकलै महिला रिपोर्टर । साचै अनौँठो। तर, सबै धेरै मिलनसार र सहयोगी पनि । अझ ठूला पत्रकारहरु भेट भएकाले मनमा खुसी नै थियो । मैले पत्रकारिता नै गरेको डेढ वर्ष भयो तर मिडियामा भने झण्डै ६ वर्ष वितिसक्यो । यसको सुरुवातमा निकै गाह्रो थियो । समाचार खोज्न हिड्नुपर्ने, केही सोध्दा मानिसहरु केही नबोलिदिने, कोही रिसाउने, त कोही सहयोगी पनि पाए ।

पत्रकार भने पछि बजारमा गुण्डा छिरे जस्तो लाग्थ्यो क्यारे व्यवसायीहरुलाई केही सोध्दा अलि झर्केर बोलेको पाउथे र थाहा हुँदा हुँदै पनि थाहा नभएको भन्ने धेरै पाए । सायद सुरुमै आर्थिक विधामा पत्रकारिता गर्न सुरु गरेकाले होला आर्थिक कुरा खुलाउन निकै कठिन हुने गथ्र्यो । पत्रकारिता क्षेत्रमा महिला पुरुषलाई हेर्ने दृष्टिकोण भन्ने खासै केही छैन । यस क्षेत्रमा पत्रकार भनेपछि पत्रकारकै रुपमा हेरिएको पाए । यो क्षेत्रमा चुनौतीसँगै अवसर पनि उत्तिकै छ ।

Logo