मागलाई बेवास्ता गरे तेस्रो जनआन्दोलन : कमल थापा

मागलाई बेवास्ता गरे तेस्रो जनआन्दोलन : कमल थापा


हेटौंडा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष कमल थापाले आफूहरुको मागलाई बेवास्ता गरिए जनसंघर्ष हुने चेतावनी दिनुभएको छ ।

राप्रपाले जारी राखेको मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा गृहनगर हेटौंडामा भएको सभामा अध्यक्ष थापाले आफूहरुको मागलाई बेवास्ता गरिए तेस्रो जनआन्दोलन गर्ने चेतावनी दिनुभयो ।

नेपाललाई सनातन हिन्दुराज्य बनाउने अभियानमा जनसमर्थन ठूलो रहेको भन्दै अध्यक्ष थापाले आफूहरुले सनातन हिन्दुराज्य स्थापनाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो । केपी ओली नेतृत्वको सरकारले लोकतन्त्रको आडमा भ्रष्टाचारलाई प्रश्रय दिएको भन्दै अध्यक्ष थापाले वाइडबडी, सुनकाण्डका विषयमा हालसम्म कुनै तथ्य बाहिर नआउनु शंकाको विषय भएको दाबी गर्नुभयो ।

सरकारले नेपाललाई विखण्डन गर्ने मानसिकता भएकाहरुलाई निस्तेज पार्न नसकेको भन्दै उहाँले यस्तै अबस्था आए देशमा ठूलो संकट आउने बताउनुभयो । अध्यक्ष थापाले देशमा लुटतन्त्र चलिरहेको आरोप लगाउनुभयो । ‘प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्दिनँ भन्दा म बुझ्न सक्छु, अनि भ्रष्टाचार गर्न दिन्न भन्ने पनि अलिअलि पत्याउन सकिएला तर भ्रष्टाचारीको अनुहार हेर्दिन भन्दा मैले पत्याइँन,’ थापाले भन्नुभयो ।

‘बालुवाटारको वरिपरि, सिंहदरबारको वरिपरि नेपालको व्रह्मलुट गर्ने भ्रष्टाचारीको गिरोह रातदिन सक्रिय छ । यस्ता भ्रष्टाचारी नदेख्ने प्रधानमन्त्रीले कि मौनव्रत बस्नुप¥यो कि त भ्रष्टाचारी गएपछि आँखा खोल्नुप¥यो,’ अध्यक्ष थापाले आरोप लगाउनुभयो ।

अध्यक्ष थापाले सरकारले सर्वोच्चले फैसला गरेको एनसेलबाट उठाउनुपर्ने कर उठाउन कस्ले रोकेको छ भन्ने प्रश्न गर्दै सरकारले हिन्दुराष्ट्र पुनस्र्थापना, राष्ट्रिय अखण्डता, शान्तिसुरक्षा, भ्रष्टाचार नियन्त्रण, गरिबी, बरोजगारी, मूल्यवृद्धी जस्ता समस्या समाधानका लागि राप्रपा सडकमा आएको बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Logo