मन्त्रीलाई सांसदको प्रश्न- ‘शिक्षा आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?’

मन्त्रीलाई सांसदको प्रश्न- ‘शिक्षा आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?’


राष्ट्रियसभाको बिहीवारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग प्रश्नोत्तर  छलफल चलेको छ ।

छलफलका क्रममा सांसद राधेश्याम अधिकारीले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन सार्वजनिक नहुनुको कारण माग गरे। उनले भने, – ‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?’ प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधि र प्रक्रिया पूरा भएपछि प्रतिवेदन सार्वजनिक गरिने जवाफ दिए ।

उनले करीब पाँच सय पृष्ठ रहेको सो प्रतिवेदनका आधारमा राष्ट्रिय शिक्षा नीति तथा नयाँ ऐनसमेत बन्ने जानकारी दिँदै भने, ‘यसले विसं २०२८ को शिक्षा नीतिलाई समेत विस्थापित गर्नेछ ।’

प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तण भई मन्त्रिपरिषद्मा छलफलका क्रममा रहेको हुँदा सार्वजनिक नभएको मन्त्री पोखरेलले स्पष्ट पार्दै भने, ‘प्रतिवेदन प्रक्रियागत ढङ्गले विधि र प्रक्रिया पूरा भएपछि सार्वजनिक हुन्छ ।’

उनले अगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने सरकारको नीतिअनुसार हालसम्म करीब ४०० स्थानीय तहमा शिक्षालय स्थापना भएको जानकारी दिए ।

उनले शैक्षिक प्रमाणपत्र धितो राखी ऋण प्राप्त गर्न कार्यविधि स्वीकृत भइसकेको जानकारी पनि बैठककलाई गराए ।

Logo