#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30830680958539742528422446857
नेपाल627974011712945267

आज विश्व स्तनपान दिवस : आजै देखि स्तनपान सप्ताह पनि शुरु

काठमाडौँ

संसारभर विभिन्न कार्यक्रम गरी आज स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदै छ । पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिना सम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्ता सम्म स्तनपान सप्ताह मनाउने गरिएको छ ।

संसारभर एक देखि सात अगष्ट सम्म मनाइने विश्व स्तनपान दिवसको यस वर्षको नारा ‘स्तनपानः जीवनको आधार’ रहेको छ । गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौति दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।

आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् । आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।

बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तन सम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।

बाल्यकालमा पर्याप्तरूपले आमाको दूध खान नपाएका शिशुहरुमा बाल्यकालमा शुरू हुने प्रकृतिको मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरुमा अपेक्षाकृत वुद्धि विकास समेत नहुने हुन्छ । यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले छ देखि आठ महिना सम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहार मात्र हैन, यो जीवन रक्षक आहार पनि हो ।

केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन । आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ । नियमित र निश्चित अवधि सम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्म सन्तुष्टि समेत प्राप्त हुन्छ ।
रासस

सम्बन्धित समाचारहरु