महत्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मन्त्री नेम्बाङ्गको निर्देशन

महत्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मन्त्री नेम्बाङ्गको निर्देशन


काठमाडौं ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले ठूला र महत्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिक प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्बाङ्गले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताए। आयोजना क्षेत्र तथा प्रभावित क्षेत्रमा देखिने सबै समस्या सल्टाएर निर्माण थाल्ने हो भने कम्तिमा आठ वर्षपछि आयोजना बन्ने भन्दै साना समस्यामा नअल्झन मातहतका निकायहरुलाई निर्देशन दिए। भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुन र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक भएको बताए ।

समीक्षा बैठकमा आयोजना प्रमुखहरुले स्थानीयस्तरमा प्रभावित क्षेत्रका जनता र उपभोक्तालाई समितिहरुले विभिन्न मागहरु राखि काम गर्न असहज बनाएको गुनासो गरेका थिए । सरकारले अनुकुल वातावारण भएका राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजनामा पनि उल्लेख्य प्रगति गर्न नसकेको आलोचना खेप्दै आएको छ ।

Logo