भारतमा मोदी सरकारको उल्टो दिन गन्ती सुरु, विधानसभा चुनावमा झट्का

भारतमा मोदी सरकारको उल्टो दिन गन्ती सुरु, विधानसभा चुनावमा झट्का


काठमाडौं । भारतमा पाँच राज्यमा भएको विधानसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टीलाई ठूलो झट्का लागेको छ । भारतका तीन ठूला राज्य मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भारतीय कंग्रेसले भाजपालाई उछिनेको छ । र कंग्रेसले सत्ता सम्हाल्ने संकेत दिएको छ । त्यस्तै यस्तै तेलंगानामा कांग्रेस दोस्रो र मिजोरममा सत्ता गुमाउँदै दोस्रो स्थानमा झरेको छ ।

सन् २०१९ मा हुने आम चुनावको सेमिफाइनलको रुपमा हेरिएको विधानसभा चुनावमा भाजपा अझ विशेष गरी मोदी लहर कमजोर भएको देखिएको छ । केन्द्रमा नरेन्द्र मोदी नेतृत्वमा सत्तामा रहेको भाजपाले बलियो चुनावी अभियानका बाबजुद सत्ता जोगाउन नसकेको देखिएको हो ।

सन् २०१४ को मे मा सत्तामा आएको मोदी सरकारका लागि पाँच राज्यको चुनाव अहिलेसम्मकै ठूलो झड्का हो । यी राज्यको चुनावले नै भाजपालाई केन्द्रको सत्तामा पुग्न सहयोग गरेको थियो । छत्तीसगढ र मध्य प्रदेशमा गएको १५ वर्षदेखि भाजपाको सत्ता थियो । यस्तै राजस्थानमा पाँच वर्षअघि भाजपा सत्तामा आएको थियो ।

कांग्रेस छत्तीसगढमा दुई तिहाई बहुमत नजिक पुगेको छ भने राजस्थानमा बहुमतको अवस्थामा छ । यस्तै मध्य प्रदेशमा कडा टक्कर भए पनि कांग्रेस अघि देखिएको छ ।

चुनावी नतिजापछि दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवालले ट्वीट गर्दै ‘मोदी सरकारको उल्टो गन्ती सुरु भयो ।’ भनेको छन् ।

चुनावी नतिजापछि प्रधानमन्त्री मोदीले पनि विजयी भएकाहरुलाई बधाई तथा शुभकामना दिएका छन् । चुनावी अभियानमा भाजपाको नेतृत्व मुख्यतः प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।

उनले मंगलबार राति १० बजेपछि ट्वीट गर्दै जितका लागि कांग्रेसलाई बधाई दिएका हुन् । प्रधानमन्त्री मोदीले ट्वीटमा लेखेका छन्, ‘विधानसभा चुनावमा भाजपा कार्यकर्ताले रात दिन मेहनत गरे । म उनीहरुको मेहनतका लागि आभारी छु । हार वा जित जिन्दगीको अंश हो ।’

Logo