वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको सङ्क्रमण

वैदेशिक रोजगारबाट फर्केकामा एचआइभीको सङ्क्रमण


महोत्तरी जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । एचआइभी जाँच रक्त परीक्षण र उपचार सेवा दिँदै आएको नेपाल परिवार नियोजन सङ्घ महोत्तरी परियोजना बर्दिवासले जनाएको छ ।

विश्व एड्स दिवसका अवसरमा परियोजना प्रमुख धीरज पौडेलले हालसम्म आफ्नो ल्याबको परीक्षणबाट सङ्क्रमित पाइएका ५० मध्ये ३१ पुरुष वैदेशिक रोजगारबाट फर्केका पाइएको जानकारी आज सञ्चारकर्मीलाई दिए।

सङ्क्रमित १९ महिलामध्ये छजना सङ्क्रमित पुरुष (पति) का पत्नी रहेको परियोजनाले जनाएको छ । जिल्लामा कूल सङ्क्रमित सङ्ख्यामध्येका पाँचजना बालबालिका भने गर्भदेखि नै सङ्क्रमित पाइएको परियोजना प्रमुख पौडेलको भनाइ छ ।

सन् २००७ देखि एचआइभी र विभिन्न यौन रोगबारे परामर्श, स्वेच्छिक रक्त परीक्षण र उपचार सेवासमेत दिँदै आएको परियोजनाले सन् २०१३ यता भने एचआइभी सङ्क्रमण न्यूनीकरणमा राम्रो सुधार आएको जनाएको छ ।

सन् २००७ देखि २०१२ सम्म प्रत्येक वर्ष दुई/चार सङ्ख्या सङ्क्रमित भेटिए पनि २०१३ यता भने यसै वर्ष गत अक्टुबरमा एक मात्र सङ्क्रमित भेटाइएको परियोजना प्रमुख पौडेलले जानकारी दिए ।

विभिन्न स्वास्थ्य संस्था, स्वयंंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र कण्डमको प्रयोग बढेसँगै एचआइभी सङ्क्रमण घटेको परियोजनाको ठम्याइ छ ।

जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको परियोजना प्रमुख पौडेलले बताए । सङ्क्रमण पनि भारत र मलेशियाबाट फर्केका बढी पाइएको परियोजनाले जनाएको छ ।

यसैबीच स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घ संस्थाले विदेशबाट फर्कनेलाई विमानस्थल र दुईदेशीय सीमा क्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्यसँग माग गरेका छन् । रासस

Logo