कलैया

बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । "/>

सम्पत्तिको लोभमा बिहे प्रस्ताव नमानेपछि वृद्धको हत्या

सम्पत्तिको लोभमा बिहे प्रस्ताव नमानेपछि वृद्धको हत्या


कलैया

बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

नन्दलालको हत्यामा उनकै छिमेकीको संलग्नता रहेको पाइएको छ । प्रहरीले नन्दलालका छिमेकी ४५ वर्षीय वीरेन्द्रलाल प्रसाद जैसवारलाई घटनाको मुख्य योजनाकारका रूपमा सार्वजनिक गरेको छ ।

वीरेन्द्र सहित घटनामा हाल सिम्रौनगढ नगरपालिकाका साबिकको अमृतगन्ज–९ का ५५ वर्षीय जोधा भनिने राम अयोध्या दास तत्मा, वीरेन्द्रका १९ वर्षीय छोरा विशाल र ६५ वर्षीय बैजनाथ राउत कुर्मी रहेका छन् ।

घटनामा नन्दलाललाई वीरेन्द्र र रामअयोध्याले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए भने उनका छोरा विशाल र बैजनाथले सहयोगीको भूमिका निभाएका थिए । आर्थिकरुपमा सम्पन्न नन्दलाल सफल कृषक थिए । उनको दैनिकी खेतीपाती र माछा पोखरीमा बित्ने गरेको थियो ।

सधैँ जसो खेतको काम सकेर साँझ घर आएका नन्दलाल गोठको काम गरिरहेको अवस्थामा मारिएका थिए । उनको शव घर छेउकै आँपको रुख मुनि शनिवार राति ८ बजे फेला परेको थियो । घटना लगत्तै अनुसन्धान थालेको प्रहरीले सोमबार साँझ वीरेन्द्र र अन्य तीन जनालाई पक्राउ गरेको हो । घटनामा संलग्नको पहिचान गर्न तालिमप्राप्त कुकुरको समेत प्रयोग गरिएको थियो ।

घटनास्थलमा भेटिएका प्रमाण र परिवारले दिएको सूचना अनुसार शङ्का लागेर वीरेन्द्रलाई पक्राउ गरेपछि हत्याको वास्तविकता खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डिएसपी रञ्जित सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार नन्दलाल र वीरेन्द्र बिच केही समय अघि सामान्य मनमुटाब भएको थियो ।

त्यस बाहेक आर्थिक रूपमा सम्पन्न नन्दलालको नातिनीसँग आफ्नो छोराको विवाह गरेर सम्पत्ति हत्याउने वीरेन्द्रको सोच नन्दलालले विफल पारेका थिए । वीरेन्द्रको विवाह प्रस्ताव नन्दलालले अस्वीकार गरेका थिए । नन्दलाल र उनका भाइ अम्बिकाको संयुक्त परिवार एकै घरमा बस्थे । नन्दलालको सन्तान नभएको र भाइ अम्बिकाको एक छोरा र तीन नातिनी रहेका छन् ।

‘आर्थिक रुपमा सम्पन्न नन्दलालको हत्या उनको सम्पत्ति नै हत्याउन गरिएको जस्तो देखिन्छ’ डिएसपी राठौरले भने ‘नन्दलालको हत्या गरेपछि आफ्नो लागि बाटो खुल्ने योजनाका साथ वीरेन्द्र अगाडी बढेको र त्यही सोचले हत्याको योजनाको बनाएको बयानबाट बुझिएको छ ।’
अन्नपूर्णबाट

Logo