पर्यटन प्रवर्द्धन लाई साझा अवधारणा

नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवर्द्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवर्द्धनबारे आज आयोजना गरेको अन्तक्र्रियामा उनले पर्यटकीय दृष्टिले दुवै देश महत्वपूर्ण भएकाले कार्यक्रम बनाएर प्रवर्द्धन गर्नुपर्ने बताए ।

राजदूत परेराले पर्यटक तान्न दुई मुलुकबीच सिधा हवाई सम्पर्क विस्तार गरी प्रवर्द्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याए ।

सांस्कृतिक र धार्मिक रुपमा दुई देशबीच नजिकको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै पारस्परिक हित र लाभका विषयमा भावनात्मक सहकार्य अभिवृद्धिमा सक्रिय हुनुपर्ने राजदूत परेराको भनाइ थियो ।

पर्यटन प्रवर्द्धन गर्न एकअर्का देशबीचका ‘टूर अपरेटर’ को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुने उनको विश्वास छ ।

नेपाल र श्रीलङ्काबीच सन् १९२० देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो । करीब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट वर्षेनी भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलङ्काका पर्यटक आउँछन् ।

श्रीलङ्काको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५२७ र सन् २०१७ मा ४५ हजार ३७१ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १४४ पर्यटक श्रीलङ्का पुगेका छन् ।