चेस्टर बेनिङटनको आत्महत्यापछि लिनकिन पार्कको सांगितिक टुर स्थगित

चेस्टर बेनिङटनको आत्महत्यापछि लिनकिन पार्कको सांगितिक टुर स्थगित


एजेन्सी : आफ्ना लिड भोकलिस्ट चेस्टर बेनिङटनले आत्महत्या गरेपछि अमेरिकी गायन समूह लिनकिन पार्कले उत्तर अमेरिकी टुर स्थगित गरेको छ। यसअघि यो ब्यान्डले जुन २७ तारिखमा म्यान्सफिल्डबाट सुरु गरेको यात्रा उत्तर अमेरिकाका विभिन्न देश हुँदै २२ अक्टुबरमा लस एन्जलसमा आएर सम्पन्न हुने कार्यक्रम थियो।

लिनकिन पार्कले बेनिङटनको मृत्युभन्दा केही समयअघि मात्रै युरोप टुर गरेको थियो। त्यस्तै यो ब्यान्डले विश्व टुरको घोषणा गर्ने कार्यक्रम समेत थियो।

४१ वर्षका बेनिङटनले बिहीबार आफ्नो घरमा झुन्डेर आत्महत्या गरेपछि लिनकिन पार्कका सदस्य तथा शुभचिन्तकहरु स्तब्ध छन्। पछिल्लो समय निकै खुसी देखिएपनि बेनिङटनले बेला बेलामा संसारप्रति आफुलाई घृणा लाग्ने गरेको बताउने गरेका थिए।

सन् १९९६ मा स्थापित लिनकिन पार्क सांगितिक समूहमा स्थापनाको २ वर्षपछि बेनिङटन जोडिएका थिए। यस ब्यान्डले सन् २००० मा निकालेको हाइब्रिड थ्योरी एल्बम ७ करोडभन्दा धेरैप्रति बिकेको थियो। यस ब्यान्डले २ पटक ग्रेमी अवार्ड समेत जितिसकेको छ।

गत मेमा बेनिङटनले क्रिस कोर्लेनको अन्त्येष्टीका दौरान सांगितिक प्रस्तुती दिएका थिए। बेनिङटन ११ वर्षको छँदै उनका बाबु–आमाले डिर्भोस गरेका थिए। उनले बाल्यकालमा आफ्नै परिवारका सदस्यबाट यौन दुराचार सहनुपरेको समेत बताएका थिए। बेनिङटन लामो समय मदिरा तथा ड्रग्सको कुलतमा समेत फसे ।

तर पछिल्लो उनले निकै खुसी देखिएको प्रतिक्रिया दिने गरेका थिए। उनले ६ वर्षदेखि मदिरा सेवन छाडेको बताउँदै आएका थिए। लिनकिन पार्कको पछिल्लो एल्बम ‘वान मोर लाइन’ को सफलतापछि उत्साहित भएको प्रतिक्रिया दिएका थिए।

दुईपटक विवाह गरेका बेनिङटनका ६ छोराछोरी छन्। उनले यसअघि ह्याबिटेट फर ह्युम्यानिटी’ अन्तर्गत राहतका लागि संगीत नामक परियोजनामा रहेर थुप्रै च्यारिटीहरुमा सहभागिता जनाइसकेका छन्। लिनकिन पार्क समूह र यसका लिड गायक बेनिङटन विशेषगरी दक्षिण–पूर्वी एशियामा चर्चित छन्।

यस समूहले मलेसिया, सिंगापुर, फिलिपिन्स र इन्डोनेशियामा गरेका कन्र्सटहरु निकै चर्चित थिए। आगामी नोभेम्बरमा जापानमा कन्सर्ट गर्ने यस समूहको योजना थियो। 

Logo