सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि जाइकाको चासो

सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि जाइकाको चासो


अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका लागि छलफल सुरु भएको छ । बनेपादेखि भक्तपुरसम्म नै सडक चाप बढिरहँदा विभागले विस्तारका लागि छलफल अघि बढाएको छ। 

एक दशक पहिले तीनकुने–सूर्यविनायक सडक विस्तार गरेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले नै सडक विस्तार गर्ने गरि छलफल भएको छ । अहिले पनि जाइकाले सो सडकको निर्माणमा चासो देखाइरहेको बताइएको छ। अहिले जाइकाले निर्माण गर्ने तत्काल योजना नभएमा सरकार आफैँले बनाउने गरी छलफल अघि बढिरहेको सूर्यविनायक–धुलिखेल सडक योजनाले जनाएको छ ।

जाइकासँग सम्झौता नभएका अवस्थामा सरकार आफैँले पनि निर्माण अघि बढाउन समस्या नभएको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि सो सडक विस्तारमा चासो देखाउँदै आएका छन् । प्रमुख भाटले भने, “विगतमा धेरै छलफल भइसकेकाले अब केही निर्णय हुन सक्छ।”

जाइकाले सन् २०११ मा सो सडकको प्रारम्भिक अध्ययन गरेको थियो । रघुवीर महासेठले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पुनः सो सडक निर्माणका लागि थप छलफल भएको थियो । उनकै अग्रसरमा सन् २०११ का अध्ययनका आधारमा थप अध्ययन भएको थियो । विगतदेखि अहिलेसम्म नै जाइकाले सो सडकको विस्तारमा चासो देखाउँदै आएको प्रमुख भाटले जानकारी दिए। 

डिभिजन सडक कार्यालयले गत वर्षदेखि नै सो सडकमा निर्माणस्थल खाली गराउने काम गर्दै आएको छ । डिभिजन कार्यालयले गत वर्ष सडकमा रहेका रुख काट्ने काम गरेको थियो । कार्यालयले नै अहिले ग्राभेलको काम गरिरहेको छ। यी काम सडक विस्तारका लागि आवश्यक प्रारम्भिक काम भएको प्रमुख भाटले बताए। 

सरकारले विगतदेखि नै सडक निर्माण जाइकाले गर्छ भन्ने अपेक्षा गरेकाले पनि अहिलेसम्म अघि नबढेको उनले बताए । उनले भने, “अहिले उसले नबनाए हामी आफैँ बनाउने भन्ने ढङ्गबाट पनि छलफल भइरहेको छ।”

तीन वर्ष पहिले जाइकाले प्रारम्भिक डिजाइन पेश गरेको थियो । त्यतिबेला द्विपक्षीय सम्झौता गर्ने तय भए पनि पछि हुन सकेन । अहिले सडक विस्तार गर्न साना समस्या आउन सक्ने भए पनि ठूला समस्या नभएको प्रमुख भाटले बताए। अधिकांश स्थानमा सडक निर्माणका लागि जग्गाको समस्या भए पनि यहाँ छैन । 

अरु साना समस्या आएमा त्यसको समाधान गर्दै निर्माण अघि बढाउन सकिने उनको भनाइ छ । उनले भने, “जाइकाले पनि चासो देखाइरहेकाले उसैसँग समन्वय गर्ने वा आफैँ गर्ने भनी योजना बनेको छैन ।” 

जाइकासँग विगतमा कुरा हुँदा जडीबुटीमा ‘अण्डरपास’ वा फ्लाइ ओभर र सूर्यविनायक–धुलिखेल सडक विस्तारको काम एकै पटक अघि बढाउने गरि छलफल भएको थियो । जाइकाले दुवै कुरामा चासो देखाएकाले धेरै पटक विभाग र मन्त्रालयसँग छलफलसमेत भइरहेको छ। अझैसम्म दुवै कुरा कसरी अघि बढाउने भनी ठोस निर्णय भने भइसकेको छैन । 

भक्तपुर र काभ्रे जोड्ने सो सडक अरनिको राजमार्गमा परे पनि बिपी राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्गलगायत सडकको समेत काठमाडौँ प्रवेश गर्ने प्रवेशमार्गका रुपमा रहेको छ । वाग्मती प्रदेशका विभिन्न जिल्ला र प्रदेश नं १ र २ का नागरिक यही सडक भएर काठमाडौँ उपत्यका आउने गरेका छन् ।

सरकारले नयाँ राजमार्गको निर्माण र भइरहेका राजमार्गको विस्तार गरिरहँदा सो सडकमा सवारी साधनको चाप बढिरहेको छ । सडक चाप जुनसुकै समयमा भए पनि अहिले साँझका समयमा मध्यम वा लामो दूरीका सवारी साधन राजधानी भित्रने गर्दा घण्टौँ जाम हुने गरेको छ । 

सडक ६ लेन बनाउनका लागि निर्माणस्थल उपलब्ध हुने प्रमुख भाटले बताए। सवारी चापका कारण अहिले ६ लेनभन्दा पनि आठ लेनको सडक आवश्यक भइसकेको बताइएको छ । निर्माणाधीन सडक सम्पन्न भएर बाह्रबीसे नाका पुनःसञ्चालन हुँदा चाप अझै बढ्ने अनुमान गरिएको छ ।रासस

Logo