उच्च अदालतको आदेशविपरीत उज्यालो नेटवर्कका दुई पत्रकार पक्राउ

उच्च अदालतको आदेशविपरीत उज्यालो नेटवर्कका दुई पत्रकार पक्राउ


काठमाडौं प्रहरीले उज्यालो नेटवर्कका दुई जना पत्रकारलाई पक्राउ गरेको छ। अनिश तामाङ र दिलबहादुर लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताए।  

फौजदारी अभियोगसँगै साइबर अपराध र र्कीर्ते मुद्दा प्रहरीमा दर्ता भएपछि जिल्ला अदालत काठमाडौंले पक्राउ पूर्जी जारी गरेकाले पक्राउ गरिएको बताए। उनले सञ्चार सामग्रीहरू भने नियन्त्रणमा नलिएको बताए।

उज्यालो नेटवर्कका प्रधानसम्पादक बुद्ध लोप्चनले भने प्रेस काउन्सिलबाट निरूपण भइसकेको र उच्च अदालतबाट पक्राउ नगर्न आदेश भइसकेको अवस्थामा प्रहरीले कार्यालयमा आएर पत्रकारहरूलाई पक्राउ गरेको बताए।

उनले सञ्चार सामग्रीहरू क्यामेरा, मोबाइल र कम्युटरसमेत प्रहरीले बरामद गरेको बताए।

केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय रअका प्रमुख सामन्तकुमार गोयलबीच भएको भनिएको सम्झौताको पत्रसहित समाचार उज्यालो नेटवर्कमा प्रकाशन भएको थियो। अन्य केही सञ्चार माध्यमले पनि प्रकाशन गरेका थिए।

तर, वास्तविकता नभएपछि उज्यालोसहितका सञ्चारमाध्यमहरूले समाचार प्रकाशन भूलवस हुन पुगेको भन्दै क्षमा याचना गरेका थिए। आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता पनि व्यक्त गरेका थिए।

Logo