‘स्वास्थ्य प्रणालीले धान्न नसक्ने भइसक्यो, नागरिक बचाउन अन्तर्राष्ट्रिय समुदाय गुहारौं’

‘स्वास्थ्य प्रणालीले धान्न नसक्ने भइसक्यो, नागरिक बचाउन अन्तर्राष्ट्रिय समुदाय गुहारौं’

केन्द्रबिन्दु
0
Shares

पछिल्लो समय भारतमा कोरोना भाइरसको प्रभाव तीब्र बन्दै जाँदा संसारभरको नजर भारतमा केन्द्रित भएको छ। विश्वका विभिन्न मुलुकले भारतलाई स्वास्थ्य सामग्री सहयोग गर्न थालेका छन्।

नेपालको महामारीको अवस्था अब केही दिनमै भारतको जस्तै भयानक बन्ने भएकाले अन्तर्राष्ट्रिय समुदाय गुहार्ने बेला भइसकेको विज्ञहरुको धारणा छ। नेपाल सरकारले अन्तर्राष्ट्रिय समुदायसँग स्वास्थ्य सामग्री सहयोग माग्नुपर्ने बेला आइसकेको वरिष्ठ जनस्वास्थ्यविद् प्रा.डा. शरद वन्तले बताएका छन्।

‘एउटा देशलाई समस्या पर्दा अर्को देशले टुलुटुलु हेरेर बस्न सक्दैन, अहिलेको अवस्थामा हामीले पनि सहयोग माग्नुपर्ने बेला आइसकेको छ,’ जनस्वास्थ्यविद् वन्तले भने। 

अहिले नेपालले पनि भारतकै जस्तो विपद् व्यहोरिरहेको र उपलब्ध साधनस्रोतले भ्याउँदैन भनी सरकारले  भनिसकेको अवस्थामा अब अन्तर्राष्ट्रिय समुदायलाई डाक्नुपर्ने उनको भनाइ छ। 

भारतमा दैनिक ४ लाखको हाराहारीमा संक्रमित हुँदा ४ हजार हाराहारीको मृत्यु भइरहेको छ। 

भारतमा अक्सिजन अभावले बुधबार मात्र एक हजारको मृत्यु भएको तथ्यांक छ। कोरोना संक्रमण दरलाई हेर्ने हो भने भारतभन्दा हाम्रो अवस्था अझ जटिल छ। बुधबारको तथ्यांकअनसार नेपालमा संक्रमण पुष्टि हुने दर ४० दशमलव ८ प्रतिशत छ। नेपालमा भारतमा भन्दा एक दशमलव सात गुणा बढी संक्रमित देखिएका छन्। नेपालमा स्वास्थ्य संकट आउने सम्भावना देखिएको छ।

 भारत सार्कका अन्य मुलुकभन्दा प्रविधि र स्वास्थ्य संरचनाले विकसित भए पनि महामारीमा जनताको ज्यान जोगिन सकेको छैन। भारतलाई अमेरिका, बेलायतलगायत मुलुकले अक्सिजन पठाएका छन्। 

 जीवाणु वैज्ञानिक डा. सन्तोष दुलाल पनि अब नेपालमा रहेका स्वास्थ्य उपकरण र संरचनाले मात्र कोरोना संक्रमण नियन्त्रणमा आउन गाह्रो पर्ने बताउँछन्। 
 
अन्तर्राष्ट्रिय समुदायसँग नेपालले हारगुहार माग्नुपर्ने बेला आइसकेको दुलालको धारणा छ। ‘जस–जसले जे सहयोग दिन्छन्, त्यो लिनुपर्ने बेला आइसकेको छ,’ उनी थप्छन्।

Logo