प्रदेश नं ५ : राजधानी सार्ने निर्णयपछि २ हजार २४९ व्यवसायीद्वारा नेकपाबाट राजीनामा दिने घोषणा

प्रदेश नं ५ : राजधानी सार्ने निर्णयपछि २ हजार २४९ व्यवसायीद्वारा नेकपाबाट राजीनामा दिने घोषणा


रुपन्देही ।
सरकारले प्रदेश नं ५ को राजधानी दाङ लैजाने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेपछि रुपन्देहीका उद्योगी व्यवसायी आक्रोशित भएका छन् ।

आर्थिक, साँस्कृतिक र पर्यटकीय सबै हिसाबले महत्वपूर्ण मानिएको क्षेत्रमा भएको अस्थायी सदरमुकामलाई नै राजधानी घोषणा नगरी दाङ लैजाने प्रस्ताव ल्याएपछि यहाँका उद्योगी व्यवसायी आक्रोशित भएका हुन् ।

सरकारले आज प्रदेशसभाबाट राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव पास गरेपछि उनीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट आफूहरुले राजीनामा दिने घोषणासमेत गरेका छन् । उद्योगी व्यवसायीले आज बुटवलमा पत्रकार सम्मेलन गरी प्रदेश राजधानी रुपन्देहीमै राख्न माग गर्दै प्रदेशसभाबाट सार्ने निर्णय भए पार्टीबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग परिसङ्घका केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला सदस्य एजाज आलमले जनभावना विपरीत राजधानी सार्ने प्रस्ताव ल्याएको भन्दै राजधानी दाङ गएपछि पार्टीबाट राजीनामा दिने घोषणा गरे। उनले दुई हजार २४९ जना सदस्यले पार्टीबाट राजीनामा दिने तयारी गरेको जानकारी गराए ।

यस्तै रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहराले उद्योगी व्यवसायीको मर्मविपरीत राजधानी सार्ने तयारी गरिएको भन्दै आपत्ति जनाए। पत्रकार भेटघाटमा पर्यटन व्यवसायी माधव नेपाल, व्यवसायी मोतिलाल पाण्डे, होटल व्यवसायी समुद्र जिसी लगायतले प्रदेश राजधानी सार्ने निर्णय मान्य नहुने भन्दै उद्योगी व्यवसायीको माग सुनुवाइ नभए पार्टीमा बस्नुको कुनै औचित्य नभएको बताए।

Logo