देशभरका ७०० कैदीबन्दीलाई कोरोना पुष्टि, आठ जनाको मृत्यु

देशभरका ७०० कैदीबन्दीलाई कोरोना पुष्टि, आठ जनाको मृत्यु


काठमाडौं ।

देशभरका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीलाई कोभिड–१९ सङ्क्रमण भएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

सङ्क्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए। त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । बाँके र मोरङमा एक, एक जनाको निधन भएको सापकोटाले बताए।

प्राप्त विवरण अनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका एक हजार ९०० बढीको पिसिआर परीक्षण भएको थियो । त्यस मध्ये ७०० पोजेटिभ भएको र झण्डै २०० उपचारपछि निको भएको जनाइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ ।

सङ्क्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ । आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए। शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने गरिएको छ ।

विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिरहा, सुनसरी, मोरङ लगायत कारागारमा कोरोना देखिएको छ ।

Logo