निर्मला पन्तको झझल्को दिने बझाङको सम्झना हत्याकाण्ड

निर्मला पन्तको झझल्को दिने बझाङको सम्झना हत्याकाण्ड


बझाङ ।

२०७५ साउन १० गते बिहान कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । निर्मलाले हत्या भएको तीन बर्ष बितिसक्दा समेत न्याय पाउन सकेकी छैनन् । निर्मला बलात्कारपछि हत्या प्रकरणका अपराधी अझै गुमराहमै छन् ।

उक्त घटनाले अन्तर्राष्ट्रिय रुपमै चर्चा पायो । अपराधीलाई कारबाहीको माग राखी लगातार पर्दशन भईरह्यो । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर महेन्द्रनगरमा एक युवकको ज्यानसमेत गयो । अहिले पनि रचनात्मक तरिकाले निर्मलाको न्यायका लागि दबाब र आन्दोलनका कार्यक्रमहरु भईरहेका छन् । केही दिन अगाडि मात्रै प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तिहरुको फोटोमा ‘जस्टीस फर निर्मला’ भन्दै कमेन्ट गर्ने अभियाननै चलेको थियो ।

साथीको घर गएकी निर्मला साउन ११ गते बिहान नजिकैको उखुबारीमा मृत भेटीएकी थिईन् । बिभत्स तरिकाले हत्या गरिएको निर्मला हत्या प्रकरणको झझल्को दिने घट्ना सुदूरपश्चिममा पुनः दोहोरिएको छ ।

बझाङको मष्टाँ गाउँपालिका–२ खिकालाकी १२ बर्षिया बालिका सम्झना विश्वकर्माको बलात्कारपछि हत्या गरिएको घट्ना बाहिरिएको छ । असोज ७ गते (बुधबार) दिउँसो ५ बजे भैंसीगोठ हिंडेकी सम्झनाको आधा बाटोमै बलात्कारपछि बिभत्स तरिकाले हत्या भएको छ ।

घरबाट आधा घण्टाको दूरीमा रहेको भैंसीगोठ जाने क्रममा नजिकै रहेको (सिममाडौं) मन्दिरभित्र सम्झनाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । सम्झनाको हत्या प्रकरणमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले स्थानिय राजेन्द्र बोहरालाई सार्वजनिक गरेको छ ।

प्रहरी नायव निरक्षक (डिएसपी) रुपक खड्काका अनुसार आइतबार पक्राउ गरिएका बोहरालाई सार्वजनिक गरिएको र थप कानुनी प्रक्रियाका लागि अदालत पेश गरिएको छ । उनले पीडित परिवारसँग छलफल भईरहेको र मृतक बालिकाको शव उठाउने तयारी भईरहेको बताए ।

सम्झना गाउँकै मष्टा निमाविमा ६ कक्षामा पढ्दै थिइन् । उनका बुवा बिजुली कामी र आमा धैली कामी रोजगारीका लागि चार बर्षदेखि भारतमा थिए । सम्झना बाजेसँगै बस्दै आएकी थिइन् । उनको हत्यापछि कानमा भएको सुन समेत लुटिएको छ । जिल्ला अस्पताल बझाङले सम्झनाको बलत्कारपछि हत्या भएको पुष्टि गरेको छ ।

घटनाको वास्तविकता तत्काल छानबिन गरी दोषीलाई कारबाहीका लागि प्रहरीलाई दबाब दिन देशभर विरोधका कार्यक्रमहरु भईरहेका छन् । यस घटनाको सामाजिक सञ्जालमा समेत व्यापक निन्दा भइरहेको छ । विभिन्न अधिकारकर्मी संघसंस्था, राजनीतिक दल र तिनका भ्रातृ संगठनले अपराधीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै विज्ञप्ति समेत निकालेका छन् ।

प्रहरीले सार्वजनिक गरेका राजेन्द्र बोहरामाथि अर्को मुद्धा

सम्झना कामीको बलात्कारपछि हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेका राजेन्द्र बोहरामाथि अर्को बलात्कारको घटना दर्ता भएको छ ।

बोहरामाथि १३ वर्षीया रिता कामी (नाम परिवर्तन) ले जाहेरी दिएकी हुन् । उनले आफूमाथि बोहराले गत २९ साउन बेलुकी जबरर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा जाहेरी दिएकी हुन् ।

हत्या गरिएकी बालिकाका बाजेले ८ असोजमै जिल्ला प्रहरी कार्यालयमा जबरर्जस्तीकरणी गरी कर्तव्य ज्यान मुद्दा शीर्षकमा किटानी जाहेरी दिएका थिए । घटनामा संलग्न रहेको भन्दै प्रहरीले बोहरालाई आईतबार सार्वजनिक गरेको छ ।नेपाल समाचारपत्रबाट

Logo