सभापति देउवा विरुद्ध असन्तुष्ट पक्षका २७ जनाले बुझाए हस्ताक्षर

सभापति देउवा विरुद्ध असन्तुष्ट पक्षका २७ जनाले बुझाए हस्ताक्षर


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीसँग असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता र केही पदाधिकारीसहित केन्द्रीय सदस्यहरुले हस्ताक्षरसहित विरोध पत्र केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पुगेर केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् सभापति देउवालाई हस्ताक्षरसहितको विरोध पत्र बुझाएका हुन् । विरोध पत्र बुझाएपछि केन्द्रीय सदस्य जोशिले केन्द्रबिन्दु अनलाइनसँग कुराकानी गर्दै भने–‘पार्टीको विधान अनुसार सभापति चल्नुपर्ने, पार्टीको १४ औँ महाधिवेशनलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्नुपर्ने र विभागहरुमा धमाधम गरिएको मनोनयनलाई रोक्नका लागि विरोध पत्र बुझाएका हौँ ।’

विरोध पत्रमा हस्ताक्षर गर्नेहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईं रहेका छन् । असोज १९ गते बस्ने केन्द्रीय समिति बैठकमा आफूहरूका माग पूरा नभए संघर्षका बाँकी कार्यक्रम गर्ने असन्तुष्ट पक्षको भनाइ छ ।

Logo